नयाँ शक्तिले मनायो प्रथम वार्षिकोत्सव

नयाँ शक्ति बनाउने आँट गर्नैपर्छ : संयोजक डा. भट्टराई
३० जेठ, २०७४



काठमाडौँ – नयाँ शक्ति पार्टी, नेपालले स्थापनाको पहिलो वर्षगाँठ पूरा गरेको छ । पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा नयाँ शक्ति पार्टीले केन्द्रीय कार्यालय बबरमहलमा एक विषेश कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा शुभकामना मन्तव्य राख्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउनका निम्ति पुरानोलाई भत्काएर नयाँ बनाउने आँट गर्नैपर्ने बताउनु भयो । उहाँले पार्टीका अभियन्ताहरुलाई नयाँ शक्तिलाई साँच्चिकै नयाँ बनाउन दृढ अठोटका साथ लाग्न समेत आग्रह गर्नुभयो ।

नयाँ शक्तिले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा गरेको चियापान तथा शुुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका पार्टी संयोजक डा. भट्टराईले संसारमा सम्पदा र सम्पत्तिको थुप्रो लाग्दासमेत हामी गरिब हुन बाध्य भएको तर्क गर्दै भन्नुभयो – ‘गरिबीको अन्त्य गर्दै हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउने महान अभियानलाई लिएर हाम्रो पार्टी अघि बढेको छ ।’

उहाँले देशका पुराना पार्टीहरुले दलीय सिन्डिकेट नै निर्माण गरी भ्रष्टचारलाई संस्थागत गरेको दाबी गर्नुभयो । ‘ठूला दलहरुले भ्रष्टाचारलाई सिन्डिकेट बनाएर संस्थागत गरेकै कारण पनि मुलुक समृद्ध बन्न नसकेको हो’ उहाँले चिन्ता व्यक्त गर्नुभयो – ‘एक वर्षयता खर्बभन्दा बढी राजनैतिक दलहरुको सिण्डिकेटमा भ्रष्टाचार भएको छ अनि कहाँबाट मुलुक समृद्ध हुन्छ ?’



त्यही भ्रष्टाचारको जालोलाई तोडेर सदाचार र सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्ने लक्ष्य नयाँ शक्तिले निर्धारण गरेको बताउँदै संयोजक भट्टराईले भन्नुभयो – ‘त्यसैले अब हामी विकास र समृद्धिसहित सुशासन र सदाचारको राष्ट्रिय मुद्दा लिएर जनताको बिचमा जानेछौं ।’

नयाँ शक्तिप्रति जनताको आशा र विश्वास बलियो रहेको बताउँदै उहाँले जनताकै विश्वास र साथका कारण नयाँ शक्ति स्थापना भएको पहिलो वर्षमै निर्वाचनमार्फत जनताको बीचमा गएर पाँचौं नम्बरमा चर्चाका साथ स्थापित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीप्रति जनताको ठुलो अपेक्षा छ, त्यसैले जनताको अपेक्षा पूरा गर्न पनि हामीले मेहनत गर्न जरुरी छ, जनताको अपेक्षा पूरा गर्नको निम्ति हामी सुस्ताउने होइन जोखिम मोल्न तयार हुनुपर्छ । फिनिक्स पन्छीले झैं आफैंलाई जलाएर पुनः नयाँ अवतारमा उठ्नुपर्छ ।’

अहिलेको न नयाँ न पुरानोको अवस्थाको अन्त्य गर्दै पुरानो सोच र चिन्तन त्यागेर नयाँ बनाउनुपर्ने आवश्यकतामा जोड दिंदै उहाँले भन्नुभयो – ‘यो देशमा अझ धेरै काम गर्न छ, नयाँ शक्तिले मात्रै नेपालको आर्थिक विकास र समृद्धि हासिल गर्न सक्छ ।’

नयाँ शक्ति पार्टीका विभिन्न तहमा रहेको नेता कार्यकर्ताको उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रमको संचालन केन्द्रीय कार्यालयका सह–संयोजक प्रल्हाद लामिछानेले गर्नुभएको थियो ।