ग्रामीण कृषि पर्यटन विकास गर्ने दूधकौशिका गाउँपालिका प्रमुख उम्मेदवार तामाङको योजना

२ असार, २०७४

सोलुखुम्बु – नयाँ शक्ति पार्टीका तर्फबाट यहाँस्थित दूधकौशिका गाउँपालिका प्रमुखका उम्मेदवार मणि तामाङले गाउँमा ग्रामीण कृषि पर्यटन प्रवद्र्धन गर्नुका साथै गाउँलाई अर्गानिक गाउँपालिका बनाउने उद्घोष गर्नुभएको छ । स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनमा नयाँ शक्ति पार्टीका तर्फबाट दूधकौशिका गाउँपालिकाका अध्यक्षको उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा हुनुभएका तामाङ २०४१ सालमा जन्मनुभएको हो ।

“भ्रष्टाचारको अन्त्य गरौं, इमान्दार र काम गर्नेलाई चुनौ” भन्ने मूल नाराका साथ चुनावी प्रतिस्पर्धा उत्रिनुभएका उहाँले व्यवस्थापनमा स्नातक (बीबीएस) तहसम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको उहाँले सूचना प्रविधिको क्षेत्रमा झण्डै १५ वर्षदेखि काम गर्दै आउनु भएको छ ।

उहाँ जिल्लास्थित विभिन्न सामाजिक संघ संस्था तथा पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा दुधकौशिका गाउँपालिकालगायत नेपालको दुर्गम ठाउँहरुमा सामाजिक अभियन्ताको रुपमा सक्रियतापूर्वक लागिरहनु भएको छ । शिक्षा, स्वास्थ्य र रोजगारसँग सम्बन्धित कार्यक्रमहरु जनतमाझ सञ्चालन गर्दै आउनु भएका तामाङले दुधकौशिका गाउँपालिकामा विद्यालय तथा स्वास्थ्यचौकी भवनहरु निर्माण, अतिरिक्त शिक्षक व्यवस्थापन, स्वास्थ्यचौकीका कर्मचारीहरुको व्यवस्था, ग्रामीण क्षेत्रका जनताहरुको लागि सुधारिएको फलामे चुलो, कम्प्युटर ल्याब तथा कम्प्युटर शिक्षकहरुको व्यवस्थापन आदि विभिन्न सामाजिक कार्यमा समेत उत्तिकै क्रियाशीलता छ ।

दिगो विकासका लागि समुदायको विकास हुन जरुरी छ भन्ने मान्यता राख्ने तामाङ यसका अतिरिक्त इ–साक्षर अभियानअन्र्तगत नेपालीहरुलाई डिजिटल रुपमा साक्षर बनाउने राष्ट्रिय अभियानमा समेत जुट्नु भएको छ ।

राजधानीको सरस्वती बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिक जीवन शुरु गर्नुभएका तामाङ विगत १७ वर्षदेखि संघीयता, धर्मनिरपेक्षता र समानताको लागि (जातीय/क्षेत्रीय/वर्गीय विभेद, लैङ्गिक असमानता आदि) आन्दोलनरत हुनुहुन्छ ।

राजनीतिलाई पेशा होइन, समाजसेवा बनाइनुपर्छ भन्ने मान्यता राख्ने तामाङ नयाँ शक्ति पार्टी नेपालको संघीय परिषद्सदस्य समेत हुनुहुन्छ । ‘अबको निकास आर्थिक विकास’, ‘समृद्धि सम्भव छ हाम्रै पालामा’, अरुले गर्छन् कुरा हामी गर्छौ पूरा भन्ने मूल सूत्र वाक्यको रुपमा आर्थिक एजेण्डालाई नाराको रुपमा लिएर जनतामाझ चुनावी मैदानमा आएको नयाँ शक्ति पार्टीले स्थानीय तह निर्वाचनमा दलगत चुनाव चिन्हसमेत नपाउँदा संघीय समाजवादी फोरम नेपालसँगको सहकार्यमा दुई दलले संयुक्त रुपमा एक हातले समातेको मसाल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको हो ।

सोलुखुम्बु जस्तो विकट हिमाली जिल्लाको चुनावी मैदानमा उत्रनु भएका तामाङले आफ्नो गाउँलाई “नमूना गाउँ” बनाउने उद्देश्य समेत राख्नुभएको छ । तामाङले नयाँ शक्ति पार्टीको उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएर बहुमतका साथ जनताबाट निर्वाचित भएपछि सो गाउँपालिकामा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने, टोल–टोलमा बाटोघाटोको स्तरोन्नती, घर–घरमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजना अगाडि सार्नुभएको छ ।

उहाँले सबै विद्यालयमा कम्प्युटर प्रणालीबाट शिक्षा प्रदान गर्ने, रोजगारीमूलक/सीपमूलक तालिम दिइ रोजगारी सिर्जना गर्ने, सुविधा सम्पन्न अस्पतालको निर्माण, सञ्चालन र स्वास्थ्य बिमाको व्यवस्था गर्ने, वडा–वडामा कृषि सहकारी गठन गरी अर्गानिक खेती प्रणालीलाई व्यापक बनाउने लक्ष्य राख्नुभएको छ ।

त्यस्तै उहाँले ग्रामीण कृषि पर्यटनको प्रवद्र्धन गर्ने साथै विद्युतीकरण र इन्टरनेट सेवा विस्तार गर्ने लगायतका योजना अगाडि सार्नुभएको छ । आफूले अगाडि सारेका योजना नयाँ शक्ति पार्टी नेपालकै योजना भएको र यो देशमा आर्थिक विकास र समृद्धि नयाँ शक्ति पार्टीबाट मात्रै सम्भव भएको भन्दै समृद्ध समाज निर्माण गर्नको निमित्त आफ्नो उम्मेदवारी रहेको तामाङको दावी छ ।