कपिलवस्तुमा नयाँ शक्ति र स‌ंघीय समाजवादी फोरमको संयुक्त उम्मेदवार तय

४ असार २०७४

कपिलवस्तु । कपिलवस्तु जिल्लामा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमकाे संयुक्त उम्मेदवारको नाम टुंग्याइएको छ । जिल्लामा १० वटा स्थानीय तहमध्ये ६ नगरपालिका कपिलवस्तु, कृष्णनगर, वाणगंगा, बुद्धभूमि, महाराजगन्ज र शिवराज, ४ गाउँपालिकाहरुमा मायादेवी, यशोधरा, विजयनगर र शुद्धोधन रहेको छ । जिल्लाका महाराजगन्ज नगरपालिका र विजयनगर गाउँपालिका बाहेकका ८ स्थानीय तहमा उम्मेदवारको नाम टुङ्गो लगाइसकिएको नयाँ शक्ति कपिलवस्तुले जानकारी दिएको छ ।

यसैगरी स्थानीय तहको दोस्रो चरण निर्वाचनको सन्दर्भमा शनिबार नयाँशक्ति पार्टी, नेपालले बाणगंगा नगरपालिकामा बृहत र्‍याली गरेको छ । नगरपालिकाको १ देखि ११ नम्बर वडासम्म प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरेको हो । र्‍याली पश्चातको सभालाई सम्बोधन गर्दै नयाँशक्ति पार्टीका संघीय परिषद सदस्य विष्णुहरि शर्माले नयाँशक्तिको एजेण्डाले विजय हाँसिल गरिसकेको बताउनुभयो । अब यो देशलाई निकास नयाँ शक्तिको विकास र समृद्धिको एजेण्डाले मात्रै दिने शर्माले दाबी गर्नुभयो । र्‍यालीमा संघीय परिषद सदस्यहरु इन्द्रमणि पौडेल, चोपलाल राहुल, रेवता पौडेल सहित अभियन्ता, विद्यार्थी, कलाकारहरुको उपस्थिति थियो ।

नयाँ शक्ति र फोरम नेपालका संयुक्त उम्मेदवारको नामावली

वाणगंगा नगरपालिका
प्रमुख नारायण खनाल र उप–प्रमुख लक्ष्मी शारु
बुद्दभूमि नगरपालिका
प्रमुख केदारप्रसाद चौधरी र उप–प्रमुख कमला भुसाल
शिवराज नगरपालिका
प्रमुख कृष्णकुमार चौधरी र उप–प्रमुख सुमन यादव
कपिलवस्तु नगरपालिका
प्रमुख डा.अब्दुल रसीद खाँ
कृष्णनगर नगरपालिका
प्रमुख अजयप्रताप शाह र उप–प्रमुख आरती सिंह यादव
यशोधरा गाउँपालिका
अध्यक्ष अब्दुल मोविन मुसलमान र उपाध्यक्ष राजमती यादव
मायादेवी गाउँपालिकामा
अध्यक्ष बजरङ्गी चौधरी र उपाध्यक्ष गिता तिवारी
शुद्दोधन गाउँपालिका
अध्यक्ष रामनयन यादव