कैलालीको गौरीगंगामा नयाँ शक्तिको जनजागरण र्‍याली

४ असार २०७४

कैलाली । नयाँ शक्ति पार्टी, नेपाल कैलालीले आसन्न दोश्रो चरणको स्थानीय तह निर्वाचन केन्द्रित प्रचारप्रसारलाई तिव्रता दिएको छ । यसै क्रममा पार्टीले गौरीगंगा नगरपालिकाको विभिन्न वडाहरुमा जनजागरण र्‍याली निकालेको छ । गौरीगंगा नगरपालिकाको मेयर उम्मेदवार खड्ग साउद र उपमेयर कौशिला चौधरी सहितको टोलीले चुनावी प्रचारप्रसारको लागि जनजागरण र्‍यालीसहित घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । जनजागरण र्‍यालीले नगरका विभिन्न वडाको परिक्रममा गरेको थियो ।

जनजागरण र्‍यालीका सहभागीहरुले पार्टीेको चुनाव चिन्ह अंकित झण्डा, प्रचार सामग्री सहित घरदैलोमा पुगेर मतदाता शिक्षाबारे समेत जानकारी गराएको नयाँ शक्ति सात नम्बर प्रदेशका कार्यालय सचिव निर्प बोहराले बताउनुभयो ।

मेयर पदका उम्मेदवार साउदले आफू निर्वाचित भए जनताको सहभागितामा भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएर यसको अन्त्य गर्ने योजना रहेको स्पष्ट पार्नुभयो । साउदले जनताका दैनिक जीवनका अत्यावश्यकीय वस्तुहरुको सुलभताका लागि पहल गर्ने, सडक, पिउने पानी, पर्यटन, कृषि, सिँचाइ, विजुली, सूचना प्रविधि लगायतका क्षेत्रको विकास गर्ने उद्घोष समेत गर्नुभयो । कैलाली जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरी १३ स्थानीय तह रहेको छ ।