कृषिको आधुनिकीकरण गर्ने भीमदत्त नगरपालिका मेयर उम्मेदवारको प्रतिवद्धता

४ असार २०७४

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नयाँ शक्ति पार्टी, नेपालले माया नेगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयर पदकी उम्मेदवार नेगीले आफू विजयी भए यूवा तथा वौद्धिक पलायनलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्ने बताउनुभएको छ । नेगीले नगरभित्रको समस्या समाधान गर्न विजुली, स्वच्छ पिउने पानी, सूचना प्रविधि, सडक लगायत विकास पूर्वाधारका क्षेत्रमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेगीले परम्परागत रुपमा रहेको कृषि पेशालाई समय सापेक्ष आधुनिकीकरण तथा प्रविधि मैत्री बनाउँदै स्थानीय स्तरको कृषि उत्पादनलाई बजारीकरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘भीमदत्त नगरपालिकाको अनियमितता, भ्रष्टाचार रोक्नका लागि अहोरात्र खटिएर लाग्नेछु ।’ उम्मेदवार नेगीले नगरपालिकामा रहेको सरकारी सम्पत्ति अन्य पार्टीहरुले नीजि सम्पत्ति ठानेर दोहन गरेकाले त्यसलाई रोक्ने आफ्नो पहिलो काम हुने बताउनुभयो ।

भीमदत्त नगरपालिकालाई नमूना र नागरिकमैत्री बनाउने दाबी गर्नुभएकी नेगीले प्राकृतिक स्रोत–साधनको समुचित उपयोग गरी युवालाई स्वरोजगार बनाउने, अपाङ्ग, महिला, दलित, अन्य विभिन्न जातजाति, भेषभुषाको संरक्षण गरी कञ्चनपुरमै नमूना नगर बनाउने पनि घोषणा गर्नुभयो ।