बुटवलमा नयाँ शक्तिसहित संयुक्त लोकतान्त्रिक मोर्चाको चुनावी अभियान जारी

५ असार, २०७४



बुटवल – नयाँ शक्ति पार्टी, नेपाल नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिकामा चुनावी प्रचार अभियान तीव्र बनाएको छ । नयाँ शक्ति, नेकपा माले, अखण्ड पार्टी नेपाल, जनमोर्चा नेपाल, संघीय समाजवादी फोरम, नेकपा माक्र्सवादी (संयुक्त), नागरिक परिचालन अभियानको संयुक्त लोकतान्त्रिक मोर्चाले उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार खडा गरी चुनावी अभियान सुरु गरेका हुन् ।

बुटवल उपमहानगरपालिकामा यहाँका समाजसेवी होम बहादुर गलामीले मेयर पदमा र पार्वती खड्का (मञ्जु)ले उपमेयर पदमा मनोनयन दर्ता गराउनुभएको छ । मेयर उपमयेरबाहेक विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरुले भने स्वतन्त्रसहित नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका छन् ।

स्वतन्त्र रुपमा चुनाव लड्ने तयारी गर्नुभएका गलामी र खड्कालगायत संयुक्त चुनाव चिन्हमा निर्वाचन लड्ने अन्य वडा अध्यक्ष तथा सदस्यहरुलाई सात दलको संयुक्त चुनावी मोर्चाले समर्थन गर्ने मोर्चाका संयोजक एवं नयाँ शक्ति पार्टीका नेता बामदेव क्षेत्रीले बताउनुभयो ।

उम्मेदवारी दर्तासँगै चुनावी प्रचारमा उत्रिएको संयुक्त मोर्चाले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विभिन्न वडाहरुमा संयुक्त चुनावी प्रचार कार्यालय स्थापना गरी प्रचार अभियानको सुरुवात गरेको छ । जसक्रममा सोमबार वडा नं. ९ र ११ मा चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन भएको छ । उद्घाटनका क्रममा संयुक्त मोर्चाका संयोजक बामदेव क्षेत्रीले अबको राजनीतिक विकल्पका लागि चुनावी मोर्चा बनाएको बताउँदै मोर्चाले भड्किलो प्रचारशैली नअपनाईकन फरक ढंगको प्रचार अभियान संचालन गर्ने बताउनुभयो । मोर्चाले यसअघि नै उपमहानगरको वडा नंं. १, ७, १७ लगायतका स्थानहरुमा पनि प्रचार कार्यालय स्थापना गरिसकेको छ ।

सात दल र स्वतन्त्र नागरिकको हैसियतबाट संयुक्त प्रतिबद्धतापत्र तयार गरी प्रचार अभियान जारी राखेको मोर्चाले विभिन्न वडाहरुमा घरदैलो, र्याली, नागरिक भेटघाट तथा अन्तरक्रिया जस्ता प्रचारात्मक कार्यक्रमहरु जारी राखेको छ । चुनाव प्रचारको वैकल्पिक शैली प्रस्तुत गर्दै अडियो, भिडियोसहितको डिजिटल मिडियाको प्रयोग गरी प्रचार अभियान संचालन गर्ने मोर्चाले जनाएको छ ।

मोर्चाले यस नगरको समग्र विकासका लागि उद्योग तथा वित्त, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, खानेपानी, सूचना तथा सञ्चार आदि क्षेत्रको विकास गर्दै महिला, दलित तथा अल्पसंख्यकको सशक्तिकरण गर्ने एवं सुकुम्बासी समस्या समाधानका लागि एकीकृत धारणासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।