राज्यले दिने पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने सैनामैना नगर प्रमुख उम्मेदवार कुँवरको घोषणा

७ असार, २०७४

सैनामैना – नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट उम्मेदवारी दिनुभएका रुपन्देही जिल्लास्थित सैनामैना नगरपालिका प्रमुखका दाबेदार राम बहादुर कुँवरले आफू निर्वाचित भए राज्यले प्रदान गर्ने पारिश्रमिकलाई सामाजिक सेवामा खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सैनामैना नगरका प्रमुखका उम्मेदवार कुँवरले नगरमा सदाचार र सुशासनको प्रत्याभूति दिने र जनताको काममा हुने ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गर्नका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।

उहाँले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै व्यवस्थित सहर निर्माणका लागि विस्तृत गुरुयोजना बनाइ यस क्षेत्रको कृषि, पशुपालन, मत्स्यपालन, बजार, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जनलगायतका क्षेत्रहरुको सुधार गर्दै व्यवस्थित सहरिकरणको आधार बनाउने समेत बताउनुभएको छ ।

त्यस्तै सैनामैना नगरलाई नेपालकै नमूना शिक्षा क्षेत्रको रुपमा विकास गर्ने उहाँको लक्ष्य रहेको छ भने नगरलाई रिङ रोडले घेर्ने र गाउँगाउँ जोड्ने लिंक रोडहरु निर्माण गरी सडक पूर्वाधारको विकास गर्ने कुँवरले बताउनुभएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रको गुणात्मक विकास गरी चारपालास्थित निर्माणाधिन प्राकृतिक चिकित्सा केन्द्रलाई देशकै नमूना प्राकृतिक चिकित्सा केन्द्रको रुपमा स्थापना गरिने लक्ष्य रहेको बताउनुभयो ।

सैनामैना नगरपालिकामा नयाँ शक्ति पार्टीका तर्फबाट कुँवरले नगर प्रमुखमा मनोनयन दर्ता गर्नुभएको छ भने नयाँ शक्तिले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी युवा सामाजिक अभियन्ता उषा किरण पन्थलाई समर्थन गर्ने भएको छ । त्यस्तै नगरपालिकाका केही वडाहरुमा नयाँ शक्तिले उम्मेदवारी दिएको छ भने कतिपय वडाहरुमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने पार्टीका नगर संयोजक तथा नगर प्रमुखका उम्मेदवार राम बहादुर कुँवरले बताउनुभएको छ ।

११ वटा वडा रहेको सैनामैना नगरपालिकामा नयाँ शक्तिले लक्ष्मी सुवेदीको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरी चुनावी प्रचार सुरु गरेको छ ।