वाणगंगा नगरका प्रत्येक वडामा फ्रि इन्टरनेट जोनसहितको पुस्तकालय खोल्ने मेयर उम्मेदवार खनालको घोषणा

८ असार, २०७४



कपिलवस्तु – नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट उम्मेदवार बन्नुभएका कपिलवस्तु जिल्लास्थित वाणगंगा नगरपालिका प्रमुख पदका उम्मेदवार नारायण खनालले नगरका सबै वडाहरुमा फ्रि इन्टरनेट जोनसहितको पुस्तकालय खोल्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले शिक्षा नै विकास र समृद्धिको आधार भएकाले नगरका सबै वडाहरुमा आधुनिक सुविधासम्पन्न पुस्तकालय खोल्ने योजना अगाडि सार्नुभएको हो ।

त्यस्तै नगरको भौतिक एवं पूर्वाधार विकासमा जोड दिंदै नगरपालिका क्षेत्रभित्रका वडा कार्यालयहरुलाई दुई लेनको पक्की सडकले जोड्ने, नगरभित्र राष्ट्रियस्तरको बसपार्क निर्माण गर्ने, उपयुक्त ढलनिकासको व्यवस्था गर्ने, सभाहल निर्माण गर्ने, एकीकृत सेवा केन्द्र स्थापना गर्ने, प्रत्येक वडामा बाल उद्यान निर्माण गर्ने, नगरमा खाद्य डिपो स्थापना गर्नेलगायतका योजनाहरु अगाडि सार्नुभएको छ ।

मेयर पदका दाबेदार खनालले स्थानीय प्रशासनलाई जनमैत्री, सहज र पारदर्शी बनाउने प्रतिबद्धतासहित वाणगंगा नगरपालिकाको विस्तृत गुरुयोजना तयार गरेर आधुनिक र योजनाबद्ध विकास गर्ने जनाउनुभएको छ । आफ्नो चुनावी प्रतिबद्धतापत्रमार्फत उहाँले यस्ता योजनाहरु अगाडि सार्नुभएको हो ।

नयाँ शक्ति पार्टीकै तर्फबाट वाणगंगा नगरपालिका उपप्रमुख पदमा लक्ष्मी सारु मगरले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले आफू स्थानीय जनताको घरदैलोमै पुगेर नगरपालिकाले दिने सेवा वितरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । महिलाहरुलाई सशक्तिकरणमा जोड दिंदै महिला उद्यमशीताको विकास गरी टोलटोलमा महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

नयाँ शक्तिले यहाँस्थित वडा नं. ८ मा सूर्य प्रसाद पौडले अध्यक्षसहित रेवता पौडेल, हेमा सोमै तथा पृथबहादुर सोमैको प्यानललाई चुनावी मैदानमा उतारेको छ भने वडा नं. १० मा देवनाथ यादव अध्यक्षसहित कमला सुनार, शिव कुमार कहार, मकुल अल फकिरको प्यानललाई अगाडि बढाएको नयाँ शक्तिका वाणगंगा नगर संयोजक मेघनाथ पौडेलले बताउनुभयो । त्यसैगरी वडा नं. ९ को अध्यक्षमा गोविन्द प्रसाद बन्जाडे र सदस्यमा साबित्रा परियारले उम्मेदवारी दिनुभएको छ ।

दलीय सिन्डिकेट र स्थानीय प्रशासनको मिलेमतोमा नगरपालिकाको आर्थिक स्रोत संकलनमा हुने करोडौंको आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै नगरपालिकाको दीगो आर्थिक स्रोत व्यवस्थापनका लागि नयाँ शक्तिले उम्मेदवारी दिएको पार्टीका वाणगंगा नगर संयोजक मेघनाथ पौडेलले बताउनुभएको छ ।



पार्टीले चुनाव प्रचार अभियानलाई निरन्तरता दिइरहेको बताउँदै नगर संयोजक पौडेलले नगरका विभिन्न वडाहरुमा चुनावी र्याली, अन्तरक्रिया, छलफल, भेला एवं घरदैलो कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।

चुनावमा मतदानको मिति नजिकिंदै गर्दा चुनावी प्रचारलाई तीव्र बनाउँदै लगेको नयाँ शक्ति वाणगंगा नगर निर्वाचन परिचालन समितिले यहाँस्थित वैरिया, पिपरा, उक्टाहा, मधुवा, लौगाई, चप्परगाउँ, बनगाई, जिनुवा, बर्दहवा, पडेरिया, भर्तापुरलगायतका क्षेत्रमा पहिलो चरणको चुनावी र्याली तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।