नयाँ शक्तिमय बन्दैछ दाङको राप्ती गाउँपालिका

९ असार, २०७४

लमही – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा दलहरुले निर्वाचन हुने प्रदेशका स्थानीय तहहरुमा प्रचार प्रसार तीव्र बनाएका छन् । यसै क्रममा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच चुनावी एकतासँगै दुई पार्टीको संयुक्त चुनावी संयन्त्र पनि प्रचार प्रसारमा अग्रसर भएको छ ।

दाङ जिल्लास्थित राप्ती गाउँपालिकामा नयाँ शक्ति पार्टीले चुनावी प्रचार अभियानलाई उत्कर्षमा पुर्याएको छ । यस गाउँपालिकामा नयाँ शक्तिको विजयीलाई सुनिश्चित गर्न उम्मेदवारसहित पार्टीको केन्द्रीय नेतृत्व चुनावी प्रचार अभियानमा खटेको छ । यो गाउँपालिका नयाँ शक्ति पार्टीको व्यवस्थापिका संसद सदस्य गंगा चौधरीको क्षेत्र हो । यहाँ चुनावी प्रचारका लागि केन्द्रीय सहसंयोजक दुर्गा सोब, सांसद एवं ५ नम्बर प्रदेश उत्प्रेरक गंगा चौधरी, नेतृ लिली थापा, जिल्लाका स्थानीय नेतृत्व धिरज सिर्पाली, होम प्रसाद शर्मालगायत खट्नुभएको छ ।

नयाँ शक्ति र संघीय समाजवादीको तर्फबाट राप्ती गाउँपालिका अध्यक्षमा नन्द कुमार चौधरी र उपाध्यक्षमा भूमि गुरुङको उम्मेदवारी दर्ता भएको छ । यहाँस्थित ७ वटा वडाहरुमा नयाँ शक्तिले प्यानलसहितका उम्मेदवारहरु खडा गरेको छ । जस क्रममा वडा नं. १ को अध्यक्षमा लक्ष्मी बहादुर कुमाल, २ को अध्यक्षमा राधा कुमाल, ३ मा सहदेव चौधरी, ४ मा कल्पना चौधरी, ५ मा मनिराम चौधरी, ६ मा एकराज चौधरी र ७ मा राधेश्याम चौधरीसहितको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।



पार्टीको संयुक्त निर्वाचन परिचालन संयन्त्रले गाउँपालिकाका सबैजसो वडा तथा गाउँ, टोल एवं बस्तीहरुमा प्रचार अभियानलाई तीव्र बनाएको छ । जस क्रममा भालुवाङ, सुकुम्बासी बस्ती, मुक्त कमैया बस्ती, रामनगर, बराखुट्टी, मसुरिया, कुटाहा, पाखापानी, पुल्चोक, बगासोती, चैतेलगायतका गाउँबस्तीहरुमा चुनावी र्याली तथा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको नयाँ शक्ति पार्टीका राप्ती गाउँपालिका संयोजक होम प्रसाद शर्माले बताउनुभयो ।

मुख्यगरी सुकुम्बासी, मुक्त कमैया तथा अव्यवस्थित बसोबास र त्यस्तो बसोबासमा राज्यको आधारभूत सूविधा नपुग्नु यहाँको मुख्य समस्या हो । राप्ती गाउँपालिकामा मात्रै चार हजार बढी घरधुरी भूमिहिन परिवार रहेको अध्यक्ष पदका उम्मेदवार नन्द कुमार चौधरीले बताउनुभयो । उहाँले आफूले चुनाव जितेको खण्डमा भूमिहिन सुकुम्बासीहरुलाई २ वर्षभित्र हातहातमा आफ्नो जमिनको लालपूर्जा वितरण गर्ने र गाउँपालिकाको शान्ति सुरक्षा र विकास निर्माणमा जोड दिने बताउनुभयो ।

अध्यक्ष उम्मेदवार चौधरीले राप्ती गाउँपालिकालाई नमूना बनाउने उद्घोष गर्दै राप्ती नदीको कटान नियन्त्रण गर्न भालुवाङदेखि देउखुरीको राजपुर गाउँपालिकासम्म दुवैतर्फ तटबन्ध निर्माण गर्ने, महामारीको रुपमा थारु समुदायलाई मात्र लाग्ने सिकल सेल एमिनियाको उपचार र नियन्त्रणका लागि राज्यले दिने एक लाख रकमा थप गर्ने व्यवस्था मिलाउने, आधुनिक कृषि खेती प्रणाली अवलम्बन गरी उत्पादन वृद्धि गर्ने, ५ वर्षभित्र गाउँपालिका सबै वडाहरुमा मापदण्ड मुताबिकको पक्की सडक निर्माण गर्नेलगायतका योजनाहरु ल्याउनुभएको छ ।