तुल्सीपुरमा युवापुस्ता रोज्दै नयाँ शक्ति

९ असार, २०७४

तुल्सीपुर – नयाँ शक्ति पार्टीले दाङको तुल्सीपुर उपमहानगरपालिकामा ३० वर्षीय युवा जीवन भण्डारीलाई उपमहानगरपालिका प्रमुख उम्मेदवार बनाएको छ ।

शुक्रबार तुल्सीपुरमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) दाङले गरेको उम्मेदवार र मतदाताको प्रत्यक्ष संवाद ककस कार्यक्रममा नयाँ शक्ति पार्टीका तर्फबाट मेयर एवं उपमेरको परिचय दिंदै दाङ जिल्ला संयोजक नारायण भट्टराईले पार्टीले देशको विकास र समृद्धिका लागि युवापुस्ता अगाडि बढ्नुपर्ने आवश्यकता महशुस गरेर नै युवा उम्मेदवारलाई अगाडि सारिएको बताउनुभएको हो ।

नयाँ शक्ति पार्टीका ५ नम्बर प्रदेश सदस्य भण्डारी विद्यार्थी राजनीतिमा सक्रिय युवा हुनुहुन्थ्यो । यहाँको सहकारी आन्दोलन, सामाजिक संस्था तथा व्यवसायिक प्रतिष्ठानमा काम गरेर प्रशस्त अनुभव कमाउनुभएका भण्डारी स्थानीय स्तरका विकास निर्माण सम्बन्धी कार्यमा पनि निकै सक्रिय हुनुहुन्छ ।

तुल्सीपुर उपमहानगरको आधुनिकीकरणलाई मुख्य एजेण्डा बनाउनुभएको भण्डारीले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी वैज्ञानिक भू नीति लागू गर्ने बताउनुभएको छ । उहाँले उपमहानगरपालिकाभित्र ६ लेनको चक्रपथ निर्माण गर्ने तथा दाङका दुई उपमहानगरपालिका घोराही र तुल्सीपुर जोड्ने संभाव्यता अध्ययन गरी मेट्रो रेल संचालन गर्ने योजना ल्याउनुभएको छ ।

त्यस्तै सहरको वातावरणीय पक्षलाई ध्यान दिंदै तुल्सीपुरलाई हरित सहरको रुपमा स्थापित गर्ने र बजारको खानेपानी समस्या समाधानका लागि प्रत्येक वडामा २ वटा डिप बोरिङ संचालन गरी प्रत्येक घरघरमा सफा र स्वच्छ खानेपानी पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ ।



नयाँ शक्ति पार्टीले तुल्सीपुर उपमहानगरपालिका उपप्रमुख पदमा भने समाजसेवी शान्ति रिजाललाई अगाडि सारेको छ । त्यसैगरी वडा नंं १ को अध्यक्षमा गिरिराज गरङ्जाले उम्मेदवारी दिनुभएको छ भने वडा नं. ५ मा अध्यक्ष सुरेन्द्र प्रकाश चन्दसहित लक्ष्मी प्रसाद गुप्ता, नन्दलाल गुप्ता, शुष्मा विक एवं गीता बस्नेतको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

वडा नं. ६ को अध्यक्षमा पञ्चाराम नेपालीसहित मेनका पाण्डे, सिवा विक, दिलमाया चौधरी एवं अनिता चौधरीको संयुक्त प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।

त्यसैगरी पार्टीकै तर्फबाट वडा नं. ७ मा अध्यक्ष बुद्धि प्रकाश चौधरीसहित सदस्यहरु सुनिता चौधरी, खिमा विक, नारायण प्रसाद पोखरेल, भुकराम विश्वकर्माको टिमले उम्मेदवारी दिएको छ । वडा नं. ८ को अध्यक्षमा प्रकाश विक र ११ मा नारायण प्रसाद रिजालको उम्मेदवारी परेको छ ।

त्यसैगरी नयाँ शक्तिले वडा नं. १२ को अध्यक्षमा लाल बहादुर रावत एवं सदस्यमा डण्डी कुमारी वलीलाई उम्मेदवार बनाएको छ । वडा नं. १७ मा भने अध्यक्ष कृष्ण चखौटिया र सदस्यहरु भुप बहादुर बस्नेत तथा जमुना छाहारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मनोनयन दर्तासँगै नयाँ शक्ति पार्टीले उपमहानगरका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई तीव्रताका साथ जारी राखेको छ । यसैबिच नयाँ शक्तिले वडा नं. ७ नवलपुरका स्थानीय थारु समुदायहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । स्थानीयसँगको संवादमा नयाँ शक्तिका मेयर उम्मेदवार जीवन भण्डारीले नवलपुरको खानेपानी समस्या समाधान गर्नका लागि गाउँमा पानीको कुवा खन्ने प्रतिबद्धता जनाउनुभएको छ ।