नयाँ शक्ति नेपालगञ्जको चुनावी प्रचार तीव्र

१० असार, २०७४



नेपालगञ्ज – नयाँ शक्ति पार्टी बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि मतदानको मिति आउन केही दिन बाँकी रहँदैगर्दा चुनाव प्रचार अभियानलाई तीव्र बनाएको छ । संघीय समाजवादी फोरमसँगको चुनावी तालमेलका कारण उपमेयरसहित नेपालगञ्ज उपमहानगरपालिका केही वडाहरुमा उम्मेदवारी दर्ता गराएको नयाँ शक्तिले चुनावी अभियानलाई तीव्रता दिएको हो ।

नयाँ शक्तिले नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर पदमा शोभा कुमारी लखेरलाई उठाएको छ भने वडा नं. ३ को अध्यक्षमा मोहम्मद उमर हलुवाईसहित सबनम हलुवाई तथा अक्सद हलुवाईलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

त्यसैगरी वडा नं. ८ को अध्यक्षमा रानी राई तथा सदस्यमा विजय रानी सोनीलाई उठाएको छ भने वडा नं. २२ को वडा अध्यक्षमा जलीम खान र सदस्यमा शिव शंकर तिवारीलाई चुनावी मैदानमा उतारेको नयाँ शक्ति पार्टीको नेपालगञ्ज उपमहानगरपालिकाका उत्प्रेरक बाबुखान पठानले जानकारी दिनुभयो ।

वडा नं. २० मा स्वतन्त्रलाई समर्थन

जनसंख्या र भूगोलकै आधारमा नेपालगञ्ज उपमहानगरकै सबैभन्दा ठूलो २० नं. वडामा भनेर विरेन्द्र प्रकाश पुनले स्वतन्त्र रुपमा वडा अध्यक्षको दाबेदारी प्रस्तुत गर्नुभएको छ । सो वडामा पुनको नेतृत्वमा स्वतन्त्र रुपमै वडा सदस्यमा सुशिल कुमार बर्मा एवं बुद्धु बेहेनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

राजनीतिक दलहरुको सत्ता र स्वार्थमुखी क्रियाकलापबाट दिक्क भएकाले समाजको विकास निर्माणमा योगदान दिनका लागि स्वतन्त्र रुपले उम्मेदवारी दिएको वडा अध्यक्षका उम्मेदवार पुनले बताउनुभयो । किशोरावस्थादेखि नै राजनीतिमा सक्रिय रहुनभएका ३४ वर्षीय पुन स्थानीय रुपमा विकासप्रेमी युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।

आफ्नो वडा र उपमहानगरलाई नै भौतिक पूर्वाधारसम्पन्न नगर बनाउने प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका पुनलाई नयाँ शक्ति पार्टीलगायत समाजका स्वतन्त्र बुद्धिजीवी, नागरिक अगुवा तथा युवा पुस्ताले समर्थन गरेको नयाँ शक्ति पार्टीका नेपालगञ्ज उपमहानगरपालिका सहसंयोजक राजन रानाले बताउनुभयो ।

मनोनयन दर्तासँगै चुनावी प्रचार अभियान तीव्र पारिएको छ । जस क्रममा वडाका सबै स्थानहरुमा पहिलो चरणको चुनावी र्याली तथा घरदैलो सम्पन्न गरिएको सहसंयोजक रानाले बताउनुभयो । प्रचारका क्रममा थपुवा, नयाँ बस्ती, सम्झाना चोक, मिलननगर, राँझा, एयरपोर्ट लाइन, आर्मी गेट लाइन, मदनापुर, गयनपुर, नटवनपुर, रामेश्वरपुर, मनिकापुर, भैयापुरलगायतका क्षेत्रहरुमा घरदैलो सम्पन्न गरेको उहाँले बताउनुभयो ।