नयाँ शक्तिका घोराही उपमहानगर प्रमुख उम्मेदवार जगत पुनको स्मार्ट योजना

१० असार, २०७४



घोराही – नयाँ शक्ति पार्टीको तर्फबाट घोराही उपमहानगर प्रमुख उम्मेदवार युवा व्यवसायी जगत पुनले उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने स्मार्ट योजना सार्वजनिक गर्नुभएको छ । उहाँले घोराही उपमहानगरलाई सम्पूर्ण भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न औद्योगिक एवं व्यवसायिक नगर बनाउने प्रतिबद्धता जनाउनुभएको हो ।

युवा उम्मेदवार पुनले देशको विकास र समृद्धिका लागि अबको युवा पुस्ताले विकास र उत्पादनमुखी राजनीति गर्नुपर्ने बताउनुभएको छ । उहाँले नगरका जल्दोबल्दो समस्या समाधान गर्दै घोराहीमा एयरपोर्ट तथा रिङ रोड बनाउने योजना सार्वजनिक गर्नुभएको छ ।

उम्मेदवार पुनले नगरबासीका लागि स्वच्छ सफा खानेपानीको व्यवस्थापन गर्ने, अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउने, किसानका उत्पादनलाई उचित बजार व्यवस्थापन गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, भूमिहिन सुकुम्बासी मुक्त कमैयालाई जग्गाधनी पूर्जा वितरण गर्ने, नगरका सडकलाई स्तरोन्नति गर्नेलगायतका योजनाहरु सार्वजनिक गर्नुभएको छ ।

घोराही उपमहानगरमा नयाँ शक्तिले उपप्रमुख पदमा निर्मला विकसहित यहाँका विभिन्न वडाहरुमा प्यानलसतिका उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । उम्मेदवारी मनोनयनसँगै चुनावी प्रचारलाई तीव्र बनाएको नयाँ शक्तिका दाङ जिल्ला संयोजक नारायण भट्टराईले बताउनुभयो ।



यसैबिच वडा नं. १५ को अध्यक्ष उम्मेदवार गोमा गिरीले वडा अध्यक्षको हैसियतमा राज्यको तर्फबाट पाउने पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । उहाँले त्यस्तो पारिश्रमिक वृद्धवृद्धा, असक्त अपाङ्ग तथा एकल महिलाको हितमा खर्च गर्नेसमेत बताउनुभएको छ ।

चुनावी प्रचारकै क्रममा नयाँ शक्ति घोराही उपमहानगरपालिका चुनाव प्रचार संयन्त्रले नगरका विभिन्न वडाहरुमा र्याली, घरदैलो, छलफल, अन्तरक्रियासहित चुनावी सभाहरुलाई तीव्र ढंगले अगाडि बढाएको छ ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका केन्द्रीय सदस्य पदमा बानियाँकाे नेतृत्वमा गाेमा गिरीसहित दर्जन बढी जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् । शुक्रबार नवप्रवेशीहरुलाई नयाँ शक्ति पार्टीकी सहसंयोजक दुर्गा सोबले पार्टीमा स्वागतसहित प्रवेश गराउनुभएको हो ।