राप्ती सुनारीमा थारु संग्राहलय खोल्ने नयाँ शक्तिका उम्मेदवार विकको योजना

१० असार, २०७४



बाँके – भौगोलिक रुपले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका बाँकेको राप्ती सुनारी गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टीका तर्फबाट हिक्मत विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा देउमा पुन मगरको उम्मेदवारी परेको छ । त्यसैगरी नयाँ शक्तिकै तर्फबाट वडा नं. ७ मा अजय गद्दीले उम्मेदवारी दिनुभएको छ ।

संघीय समाजवादी फोरमसँगको चुनावी तालमेलका कारण धेरै वडाहरुमा उम्मेदवारी दिन नपाएको नयाँ शक्तिले अध्यक्ष र उपाध्यक्षका लागि चुनावी प्रचार अभियान तीव्र बनाएको पार्टीका बाँके जिल्ला उत्प्रेरक वेद प्रकाश शर्माले बताउनुभयो ।

अध्यक्ष पदका उम्मेदवार विकले राप्ती सुनारी गाउँपालिकालाई भौतिक पूर्वाधारसम्पन्न पर्यटकीय एवं कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सार्नुभएको छ । उहाँले राप्ती नदीवारी र पारी गरी भौगोलिक रुपले दुई भागमा बाँडिउको गाउँपालिका क्षेत्रलाई लक्षित गर्दै वारीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना ल्याउनुभएको छ भने नदीपारी कृषि उत्पादनको क्षेत्रको रुपमा विकास गर्ने उहाँको योजना रहेको छ ।



त्यसैगरी यो गाउँपालिका थारु समुदायको बाहुल्यता रहेको क्षेत्र भएकाले राप्ती सुनारीमा गाउँपालिकामा थारु संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि थारु संग्राहलयको स्थापना गर्ने तथा होमस्टे संचालन गर्ने योजना उहाँको रहेको छ ।

राप्ती सुनारी गाउँपालिकामा नयाँ शक्ति पार्टीले चुनावी प्रचार अभियानलाई तीव्र ढंगल संचालन गरिरहेको छ । पार्टीको बाँके जिल्ला उत्प्रेरक देव प्रकाश आचार्यको नेतृत्वमा दुर्गा चौधरी, बुद्ध सुनुवारको अगुवाईमा गाउँपालिकाको प्रचार अभियान संचालन गरिएको जिल्ला उत्प्रेरक आचार्यले बताउनुभएको छ ।