गौरीगंगामा नयाँ शक्तिप्रति बढ्दो आकर्षण

११ असार, २०७४



मसुरिया (कैलाली) – देशको आर्थिक विकास र समृद्धिलाई केन्द्रीय विषय बनाएर स्थापना भएको नयाँ शक्ति पार्टीप्रति गौरीगंगा नगरपालिकाका नागरिकहरु निकै आकर्षित भएका छन् । पुराना राजनीतिक पार्टीहरुको ढाँट, छल एवं स्वार्थगत राजनीतिबाट दिक्क बनेका यहाँका जनताले नयाँ शक्तिलाई विकल्पको रुपमा राजेका छन् ।

नयाँ शक्ति पार्टीले यहाँस्थित गौरीगंगा नगरपालिका प्रमुखमा खड्ग बहादुर साउदलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा कौशिला चौधरीलाई उभ्याएको छ । त्यसैगरी नयाँ शक्तिले नगरपालिकाका ११ वटै वडामा प्यानलसहितको उम्मेदवारी दर्ता गरेको छ ।

वडा नं. १ को अध्यक्षमा भुवन बुढा, २ मा बोटी चौधरी, ३ मा बाधुराम चौधरी, ४ मा रीता चौधरी, ५ मा भीम जैगडी, ६ मा रीनादेवी चौधरी, ७ मा आशाराम चौधरी, ८ मा परशुराम चौधरी, ९ मा छेदुराम चौधरी, १० मा फुलराम चौधरी तथा वडा नं. ११ को अध्यक्षमा हिंगुराम चौधरीसहितको प्यानल चुनावी मैदानमा उत्रिएको नयाँ शक्ति पार्टीका कैलाली जिल्ला संयोजक कृष्ण कुमार चौधरीले जानकारी दिनुभयो ।



राज्यको सुविधा नलिने घोषणा

मेयर पदका उम्मेदवार खड्ग बहादुर सायदले व्यक्तिगत रुपमा राज्यको तर्फबाट प्रदान गरिने कुनै पनि सुविधा प्रयोग नगर्ने र त्यस्तो सुविधावापत आउने रकम गाउँका गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले नगरभित्रको अव्यवस्थित र असुरक्षित बसोबासलाई व्यवस्थित गर्ने पहिलो एजेण्डा हुने बताउँदै भूमिको स्वामित्व नभएका तर १७ वर्षदेखि नदी किनारमा अव्यवस्थित रुपले बस्दै आएका ४०० घरधुरी मुक्त कमैया परिवारलाई ६ महिनाभित्र उचित र व्यवस्थित बसोबासको बन्दोबस्त गर्ने बताउनुभयो ।

त्यसैगरी नगरपालिका क्षेत्रभित्र ५ हजारको संख्यामा रहेका भूमिको स्वामित्व नभएका परिवारलाई एक वर्षभित्र लालापूर्जा वितरण गर्ने घोषणासमेत गर्नुभएको छ । उहाँले भूमिहिन तथा सुकुम्बासीलाई राज्यले दिने सुविधा व्यक्तिगत रुपमा नभई समूह बनाएर सामुहिक रुपमा प्रदान गर्ने र त्यो रकमको उत्पादनमूलक क्षेत्रमा सामुहिक रुपले परिचालन गर्ने बन्दोबस्त मिलाउने बताउनुभयो । मेयर पदका दाबेदार साउदले नगरलाई भौतिक पूर्वाधारले सम्पन्न बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने बताउनुभएको छ ।

त्यसैगरी उपमेयर पदकी दाबेदार कौशिला चौधरीले नगरको भौगोलिक अवस्थालाई मध्येनगर गर्दै खानेपानी, सिंचाईको व्यवस्था गरी नगरलाई आधुनिक कृषि उत्पादनको थलो बनाउने र युवा बेरोजगारी अन्त्य गरी घरेलु हिंसा र महिला हिंसा उन्मूलन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।



अण्डैयामा अपेरासहितको चुनावी कार्यक्रम

नगरक्षेत्रमा र्याली, सभा, अन्तरक्रिया, घरदैलोसहित व्यापक रुपले चुनावी प्रचारप्रसारमा उत्रिएको नयाँ शक्ति गौरीगंगा नगरपालिका चुनाव प्रचार समितिले शनिबार साँझ नगरको वडा नं. ५ स्थित अण्डैयामा गिती नाटक अपेरासहितको चुनावी सभा सम्पन्न गरेको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार साउदले आफू स्थानीयबासीको समस्या समाधान गर्दै नगरको विकासका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँदै मतदातालाई मतदान गर्न आग्रह गर्नुभयो । त्यस्तै सभालाई पार्टीका संघीय परिषद् सदस्य राजेन्द्र देवकोटाले सम्बोधन गर्दै विगतको राजनीति स्वार्थकेन्द्रीय भएकोले अब विकास र समृद्धिकेन्द्रीत राजनीति गर्न नयाँ शक्ति जन्मिएको बताउनुभयो ।

चुनावी कार्यक्रममा बेरोजगार युवाको पीडा समेटिएको गिती नाटक प्रस्तुत गरिएको थियो । राकल मगरको निर्देशनमा कैलालीको नेपाल मगर सांस्कृतिक संघका कलाकारहरुले सो गिती नाटक प्रस्तुत गरेका थिए ।