५ वर्षभित्र सुकुम्बासी शब्द हटाउने बाँसगढी नगरपालिका प्रमुख उम्मेदवार पौडेलको घोषणा

११ असार, २०७४



बाँसगढी (बर्दिया) – नयाँ शक्ति पार्टीको तर्फबाट नगर प्रमुख उम्मेदवार बन्नुभएका बर्दिया जिल्लास्थित बाँसगढी नगरपालिकाका युवा उम्मेदवार विपिन पौडेलले नगरका मुख्य समस्याको रुपमा रहेको सुकुम्बासी तथा भूमिबिहिनहरुको समस्या समाधान गर्नकै लागि आफू उम्मेदवार बनेको बताउनुभएको छ ।

देशको आर्थिक अवस्था बदल्नकै लागि युवाहरु राजनीतिमा लाग्नुपर्ने बताउँदै भ्रष्टाचाररहित समाजको निर्माण नै अबको राजनीतिक गन्तब्य हुनुपर्ने उहाँको धारणा रहेको छ । पुराना पार्टीहरुले सुकुम्बासीलाई जहिल्यै भोट बैंकको रुपमा मात्रै व्यवहार गर्ने गरेको उल्लेख गर्दै आफू नगर प्रमुखमा विजयी भए ५ वर्षको कार्यकालमा सुकुम्बासी तथा भूमिबिहीनहरुको सबै समस्या समाधान गरी सुकुम्बासी शब्द नै हटाउने घोषणा गर्नुभएको छ ।

नगरको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार निर्माणलाई जोड दिंदै आत्मनिर्भर अर्थतन्त्रको विकास गरी युवाहरुलाई स्वदेशमै रोजगार एवं स्वरोजगारको व्यवस्था गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।
यहाँस्थित बाँसगढी नगरपालिकाको उपप्रमुखमा बालकुमारी केसी थारुलाई चुनावी प्रतिस्पर्धामा उतारेको नयाँ शक्तिले नगरका विभिन्न वडाहरुमा प्रतिस्पर्धीहरुलाई चुनावी मैदानमा उतारेको छ । जस क्रममा वडा नं. २ को अध्यक्षमा दिपकराज शर्मा, ३ मा वसन्तराज बिसी, ४ मा कृष्ण प्रसाद अधिकारी, ५ मा ई. कृष्ण पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी नगरको वडा नं. ६ मा मुखिया थारु, ७ मा रामशरण थारु, ८ मा आइतराम बुढा र वडा नं. ९ को अध्यक्ष पदमा कालिराम थारुलाई चुनावी प्रतिस्पर्धामा उतारेको पार्टीका नगर उत्प्रेरक केशव पौडेलले बताउनुभएको छ ।

उम्मेदवारको मनोनयन दर्तासँगै नगरपालिकाभित्र चुनावी प्रचारलाई तीव्र बनाएको नयाँ शक्ति, बाँसगढी नगर चुनावी प्रचारप्रसार समितिले जनाएको छ ।

यसैबिच बर्दियास्थित बढैयाताल गाउँपालिकाको दुई वटा वडाहरुमा नयाँ शक्तिले प्रतिस्पर्धीलाई चुनावी मैदानमा उतारेको छ । जस क्रममा वडा नंं. १ मा चित्र बहादुर केसीलाई अध्यक्ष र वडा नं. २ मा दुखीराम महतोलाई वडा अध्यक्षसहित टीकादेवी थापा मगर तथा शोभाराम कलवारलाई सदस्य पदमा उठाएको पार्टीका जिल्ला संयोजक पौडेलले जानकारी दिनुभयो ।