घोडाघोडीलाई पर्या-पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मेयर उम्मेदवार शाहीको योजना

११ असार, २०७४

घोडाघोडी (कैलाली) – कैलाली जिल्लास्थित घोडाघोडी नगरपालिकामा नयाँ शक्ति पार्टीका तर्फबाट मेयर उम्मेदवार बन्नुभएका दिपेन्द्र बहादुर शाहीले घोडाघोडी क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सार्नुभएको छ ।

आफू नगरपालिकाको मेयर पदमा विजयी भए समग्र नगरको भौतिक एवं आर्थिक विकासका लागि दीर्घकालीन गुरुयोजना निर्माण गरेर काम सुरु गर्ने मेयर उम्मेदवार शाहीले बताउनुभएको छ । साथै नगरभित्रको अव्यवस्थित बसोबासलाई यथाशीघ्र व्यवस्थित गर्ने र भूमिको स्वामित्वबाट बञ्चीतहरुलाई भूमिको स्वामित्व हस्तान्तरण गर्नेसमेत उहाँले बताउनुभयो ।

विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्रको संरक्षण गर्दै यस नगरलाई हरित नगरपालिकाको रुपमा परिचित गराउने योजना उहाँको रहेको छ । स्थानीय नदीनाला, तालतलैया र सीमसार क्षेत्रको संरक्षण गरी सिंचाईको उचित प्रबन्ध मिलाउने र कृषिलाई आधुनिकीकरण गरी कृषि उत्पादनलाई बढाउने उहाँले बताउनुभएको छ ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनबाट नगरपालिकाको उपमेयर पदमा सुशिला चौधरीले उम्मेदवारी दिनुभएको छ । नगरपालिकाको वडा नं. १ को अध्यक्षमा नयाँ शक्तिका नगर संयोजक पञ्चराम चौधरीले उम्मेदवारी दिनुभएको छ ।

वडा नं. २ को अध्यक्ष पदमा शंकर चौधरी, ४ मा कृष्ण कुमार चौधरी, ५ मा जग मोहन चौधरी, ६ मा डम्बर थापा, ७ मा रामचन्द्र चौधरी, ८ मा प्रेम रेश्मी मगर, ९ मा पदम रोकाय, १० मा चन्द्र कुमार चौधरी, ११ मा विरेन्द्र बहादुर चौधरी र १२ नम्बर वडामा पिन्टुराम चौधरीसहितको प्यानल चुनावी मैदानमा उत्रिएको नयाँ शक्ति पार्टीका नगर संयोजक पञ्चराम चौधरीले जानकारी दिनुभयो ।