भजनी नगरपालिकालाई स्मार्ट सिटी बनाउने मेयर उम्मेदवार जैशीको घोषणा

११ असार, २०७४


भजनी (कैलाली) – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका कैलालीस्थित भजनी नगरपालिकाका मेयर उम्मेदवार डिल्ली राज जैशीले भजनीलाई स्मार्ट सिटी बनाउने योजना सार्वजनिक गर्नुभएको छ ।

उहाँले नगरपालिकाको मुख्य समस्याको रुपमा रहेको बाढी पीडित, अव्यवस्थित बजार, अव्यवस्थित बसोबास, मुक्त कमैया, सुकुम्बासी समस्या समाधान गर्दै आफ्नो कार्यकालमा भजनीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने बताउनुभएको छ ।

नगरपालिकाको कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन किसानलाई मलखाद, औषधि, बिउबिजन लगायतका कृषि सामग्रीको आपूर्ति सहज बनाउने र प्रत्येक वडामा कृषि विषेशज्ञको व्यवस्थ ागर्ने उहाँको योजना रहेको छ ।

संयुक्त गठनबन्धनले भजनी नगरपालिकाको उपमेयरमा सीता कुमारी चौधरीलाई प्रतिस्पर्धामा उतारेको छ भने नगरका विभिन्न वडाहरुमा दुई दलले उम्मेदवारहरुको संयुक्त प्यानल खडा गरेका छन् ।

नगरपालिकाको वडा नं. १ को अध्यक्षमा आशाराम चौधरी, २ मा मोहनलाल कठरिया, ३ मा दुव नारायण चौधरी, ४ मा लक्ष्मण डगौरा, ५ मा धन बहादुर चौधरी, ६ मा अमुखलाल चौधरी, ७ मा शिवलाल चौधरी, ८ मा सुरेश चौधरी र वडा नं. ९ मा उषादेवी डगौराको संयुक्त प्यानललाई चुनावी प्रतिस्पर्धामा उतारेको नयाँ शक्तिका भजनी नगर संयोजक प्रदीप सोबले जानकारी दिनुभयो ।