‘बुढीगण्डकी बचाउन’ नयाँ शक्ति विद्यार्थी युनियनको धर्ना

१ साउन, २०७४

काठमाडौं । राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माणको जिम्मा ऐन, कानुन, विधि विपरीत चिनियाँ कम्पनीलाई दिने गरी कम्पनीसँग सरकारले गरेको समझदारीको विरोधमा नयाँ शक्ति पार्टी निकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले आज धर्ना दिएको छ । सरकारले राजनीतिक रुपमा अनैतिक, गैरकानूनी एवं राष्ट्रिय स्वाभिमानविपरित बुढीगण्डकी आयोजना निर्माणका लागि विदेशी कम्पनीलाई जिम्मा दिएको भन्दै विद्यार्थी युनियनले आइतबार काठमाडौंको माइतिघर मण्डलामा १ घन्टा धर्ना दिएको हो ।

धर्नामा सहभागी नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक रमेश महतोले राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि आवश्यक लगानी स्वदेशमै उठ्ने बताउँदै सरकारले कमिशनको चक्करमा विदेशी कम्पनीलाई परियोजना सुम्पिएको बताउनुभयो ।

पहिले नै आयोजनाको विस्तृत अध्ययन र डिजाइन भइसकेको र स्वदेशी पूँजीबाटै निर्माण गर्ने गरी काम अघि बढिसकेको सन्दर्भमा एकलौटी रुपमा विदेशी कम्पनीलाई इपीसीएफ मोडेलमा जिम्मा दिने कुराको नयाँ शक्ति पार्टी, नेपालले विरोध गर्दै आएको छ । नयाँ शक्ति पार्टी, नेपालले नेपाली पूँजीबाटै निर्माण सम्पन्न गर्ने गरी बुढीगण्डकी आयोजना विकास कम्पनी बनाएर निर्माण गर्नुपर्ने धारणा राख्दै आएको छ । बुढीगण्डकी आयोजनाका लागि नेपाल टेलिकम, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सेना/प्रहरीको कल्याणकारी कोषबाट समेत लगानी प्रतिवद्धता आइसकेको अवस्थामा चिनियाँ कम्पनीसँग गरिएको समझदारीपत्र खारेजीका लागि नयाँ शक्ति पार्टी, नेपालले दवावमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसअघि पनि नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको सम्झौता गैरकानूनी र राष्ट्रिय हीत विपरित भएको, साथै यसले दीर्घकालीन रुपमा आर्थिक तथा सामाजिक समस्या सिर्जना गर्ने भन्दै सम्झौता खारेज गरी आफ्नै स्रोतबाट आयोजना निर्माण गर्न दबाबस्वरुप नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

हेर्नुहोस् धर्नाका थप तस्बिरहरु :