वैकल्पिक राजनीतिक सांगठनिक संरचनाको अवधारणामाथि बहस

६ साउन, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी ललितपुरले पार्टीमा आवद्ध सबैलाई समान अवसर र अधिकारका लागि वैकल्पिक राजनीतिक सांगठनिक संरचनाको रुपमा समतलीय राजनीतिक संगठनात्मक संरचनामाथि बहस चलाएको छ ।

जिल्ला पार्टीका तर्फबाट शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा एक अन्तरक्रियाको आयोजना गरी यस्तो प्रस्तावमाथि छलफल गरिएको हो । नयाँ शक्ति ललितपुरका गोपाल सञ्जेल एवं मनोज महतले समतलीय राजनीतिक संगठनात्मक संरचनासम्बन्धी अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

पारम्परिक रुपमा अवलम्बन गरिँदै आएको पिरामिड शैलीको संगठनात्मक संरचनाले नेतृत्वको अति केन्द्रीकरण गर्ने र नयाँ पुस्तालाई राजनीतिक रुपमा स्थापित हुन असंभव जस्तै हुने भएकोले विकल्पको रुपमा समतलीय संरचनामा छलफल चलाएको अवधारणापत्र प्रस्तुतकर्ता गोपाल सञ्जेलले बताउनुभयो ।

आगामी साउन ९–१२ मा हुने नयाँ शक्तिको केन्द्रीय कार्यकारी समिति एवं संघीय परिषद्को बैठकमा छलफलका लागि लक्षित अवधारणाले नयाँ शक्तिले अवलम्बन गर्ने संगठनात्मक ढाँचालाई परिमार्जन गर्न मद्दत पुग्ने कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुको बुझाइ रहेको छ ।