नयाँ शक्तिको केन्द्रीय कार्यकारी समिति बैठक

९ साउन, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्याकारी समितिको बैठक सुरु भएको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारी समितिको बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पेश गर्नुभएको ‘पार्टी स्थापनाको एक वर्षः समीक्षा र आगामी कार्ययोजना’ शीर्षकको दस्तावेजमाथि छलफल जारी छ ।

बैठकलाई सम्बोधन गर्दै संयोजक डा. बाबुराम भट्टराईले पार्टी स्थापना भएको एक वर्षका सबलता र दुर्बलताहरुको समीक्षा गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सहि मूल्यांकन, स्थानीय तह निर्वाचनमा सहमागिता र पार्टीले संचालन गरेका विभिन्न अभियानहरुको मूल्यांकन गर्दै आगामी कार्यभारहरुको निक्र्यौल गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

दुई दिनसम्म चल्ने कार्यकारी समितिको बैठकले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी साउन ११ र १२ गते हुने संघीय परिषद्को बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।

जारी कार्यकारी समितिको बैठकले पार्टीले विगतमा भए गरेका कामकारबाहीको समीक्षा, आगामी दिनको कार्यभार तय गर्ने र पार्टीको सांगठनिक पुनःसंरचना गर्ने नेताहरुले बताएका छन् ।



बैठकले वर्तमानको अन्यौलतालाई चिर्दै नयाँ शक्तिलाई शक्तिसहितको नयाँ पार्टी बनाउन राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिका निर्धारण गरी सुस्पष्ट धारणा ल्याउने संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताउनुभयो ।

त्यस्तै पार्टी स्थापनायताका गतिविधि र स्थानीय तह निर्वाचन, पार्टी एकीकरण तथा ध्रुवीकरणका उपलब्धिहरुको समीक्षा गर्दै भावी कार्यदिशा तय गर्ने केन्द्रीय कार्यालय संयोजक डा. केशवमान शाक्यले बताउनुभयो ।

बैठकले नयाँ कार्यदिशा तय गर्ने र पार्टीलाई सांगठनिक रुपले पुनःसंरचना गर्दै चुस्त, क्रियाशील सांगठनिक स्वरुप निर्माण गरी अघि बढ्नुपर्ने नेता बामदेव क्षेत्रीले बताउनुभएको छ ।

केन्द्रीय कार्यकारी समितिको बैठक भोलि (मंगलबार) सम्पन्न हुनेछ । र, यहि साउन ११ र १२ गते हुने पार्टीको संघीय परिषद्को बैठकले पार्टीको आगामी कार्ययोजनाका बारेमा ठोस निर्णय लिनेछ ।