नयाँ शक्तिको संघीय परिषद् बैठकमा छलफल जारी

१२ साउन, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद् बैठकमा संयोजक डा. बाबुराम भट्टराईले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । प्रतिवेदनमा छलफलका लागि जिल्लागत रुपमा समूह विभाजन गरिएको थियो । आज बिहीबार परिषद् बैठकमा जिल्लागत रुपमा छलफलको निश्कर्ष प्रस्तुत हुँदैछ ।

प्रतिवेदनमाथि टिप्पणी गर्दै वक्ताहरुले नयाँ शक्ति पार्टीले प्रस्ताव गरेको वैकल्पिक राजनीतिक लाइनको बारेमा प्रष्टता हुनुपर्ने, सांगठनिक पुनःसंरचनामार्फत पार्टीलाई जीवन्त बनाउनुपर्ने, सानो र कामकाजी पार्टी कमिटी निर्माण गर्नुपर्ने, जनपरिचालन तथा सामाजिक आन्दोलनहरुलाई प्रभावकारी बनाउनुपर्ने, भ्रष्टाचार विरोधी आन्दोलनलाई सशक्त बनाउनुपर्ने, राजनीतिक रुपले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दालाई थप सशक्त बनाउनुपर्ने, उत्पादन रोजगारका मुद्दालाई ठोस कार्ययोजनाका साथ प्रादेशिक स्तरमा संचालन गर्नुपर्ने तथा पार्टीको समग्र आन्तरिक व्यवस्थापन सुधार गरेर चुस्त बनाउनुपर्ने लगायतका सुझावहरु दिएका छन् ।

संयोजक डा. भट्टराईले यसअघि नै संगठनात्मक पुनःसंरचनासहितको आगामी कार्ययोजना पेश गर्दै पार्टीको विद्यमान संघीय कार्यकारी समिति विघटन गरी ९९ सदस्यीय महाधिवेशन आयोजक समिति निर्वाचित गर्ने, संघीय परिषद्को पुनर्गठन गर्ने, असोज मसान्तसम्म २ नं. प्रदेश बाहेक सबै स्थानीय तहको प्रथम अधिवेशन सम्पन्न गर्नेलगायतका प्रस्तावहरु बैठकमा छलफलका लागि पेश गर्नुभएको थियो ।



बैठकमा उपस्थित संघीय परिषद् सदस्यहरुले पार्टीलाई साँच्चिकै नयाँ र कामकाजी बनाउनको लागि केन्द्रदेखि स्थानीय तहसम्म पार्टी पुनर्गठन गर्नुपर्ने आवश्यकता माथि जोड दिएका छन् । गाउँटोलसम्म संगठन विस्तार गर्न नसक्दा चुनावी सफलता पाउन नसकेको भन्दै उपस्थित अभियन्ताहरुले पार्टी निर्माणलाई मुख्य विषय बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । बैठकका सहभागीहरुले नयाँ शक्तिलाई सांगठनिक पुनःसंरचना तथा संगठनात्मक शुद्धीकरण गरेर देशकै वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने आशा गरेका छन् ।

बैठकमा सहभागिता जनाउन चितवनबाट आउनुभएका पार्टीका अभियन्ता शरद खरेल भन्नुहुन्छ – ‘नयाँ शक्तिलार्इृ साँच्चिकै नयाँ रुपमा जनतामाझ लैजानको लागि युवा पुस्तालाई सांगठनिक जिम्मेवारी दिएर अघि बढ्नुपर्छ ।’

पार्टीले लिएको वैकल्पिक राजनीतिक धार स्थापित गर्दै सफलता हासिल गर्नका लागि तत्काल महाधिवेशन आयोजक समिति निर्माण गरेर पार्टीको सांगठनिक पुनर्गठन गर्नुपर्ने धारणा दोलखाबाट आउनुभएका केशव चौलागाईंको रहेको छ ।

पार्टीलाई जीवन्त ढंगले जनतामा स्थापित गर्नका लागि संघीय परिषद्लाई पुनर्गठन गरेर कार्यमुखी, परिणाममुखी बनाउनुपर्ने र पार्टीमा गाउँमुखी संगठन विस्तारलाई जोड दिनुपर्ने धारणा राख्नुहुन्छ बैठकका एक सहभागी गोरखाका शंकर प्रधान । त्यस्तै प्यूठानबाट सहभागी भगवती सुवेदीले पार्टी पुनर्गठनलाई जोड दिंदै संगठन निर्माणलाई अभियानात्मक रुपले अघि बढाउनुपर्ने बताउनुभयो ।
वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित नयाँ शक्ति पार्टी देशको समृद्धि र विकासका लागि स्थापना भएको भन्दै त्यस्तो पार्टीले सामुदायिक उत्पादन प्रणाली अवलम्बन गरेर समृद्धि हासिल गर्ने दिशातर्फ उन्मुख हुनुपर्ने बताउनुहुन्छ सिन्धुपाल्चोकबाट आउनुभएका अभियन्ता महेन्द्र सुनार ।


पार्टी कमिटी सानो, छरितो र कामकाजी बनाउनुपर्ने बताउँदै रुपन्देहीका ज्ञानेन्द्र थापा भन्नुहुन्छ – ‘नयाँ शक्ति बनाउनको लागि अभियन्ताहरु हामी आफैं पनि सुद्धिकरण हुन जरुरी छ । हामीले विगतको राजनीतिक इतिहासलाई भूलेर पार्टी बनाउन योगदान गर्नुपर्छ, तबमात्र नयाँ शक्ति बन्छ ।’

कैलालीका राजेन्द्र देवकोटाको तर्क छ – ‘पार्टी बनाउनको लागि संगठन सानो, छरितो, चुस्ता र दुरुस्त बनाएर अघि बढ्नुपर्छ । हामीले एक वर्षमा जुन आकार ग्रहण गरेका छौं, यसले यथार्थ धरातल देखाएको छ । अब यही धरातलमा टेकेर अघि बढ्नुपर्छ ।’

बेलाबेलामा पार्टीभित्र वरिष्ठ र कनिष्ठको विवाद देखिने गरेकोतर्फ संकेत गर्दै नयाँ शक्तिलाई स्थापित गर्नका लागि विगतको राजनीतिक इतिहास हेरेर मात्र होइन समयको उचित व्यवस्थापन गरी काममा खट्नसक्ने र सक्रिय रुपले संगठन निर्माणमा लाग्ने अभियन्तालाई पार्टीले जिम्मेवारी दिएर खटाउनुपर्ने बताउनुहुन्छ रुपन्देहीका पंकज राई ।

पार्टीलाई नयाँ बनाउनको लागि आफैं रुपान्तरित हुनुपर्ने बताउँदै रौतहटका मनोज तिमिल्सिना भन्नुहुन्छ – ‘विगत दुई चरणको स्थानीय तह निर्वाचनमा संगठनको कमजोर धरातलकै कारण चुनावी पराजय व्यहोरेको हुनाले पार्टीको नीति विचार र कार्यक्रमलाई व्यवहारमा लैजाने सहि नेतृत्वको छनौट गरी जनस्तरसम्म संगठन विस्तारमा जोड दिनुपर्छ ।’

बैठकमा पार्टीको ७ वटा भौगोलिक प्रदेश, एक प्रवास प्रादेशिक परिषद् तथा अन्य सम्पूर्ण आंगिक, पेशागत संगठनहरुबाट करिब ७०० संघीय परिषद् सदस्यहरु उपस्थित भएका छन् । बैठकमा जिल्लागत रिपोर्टिङ राख्नेक्रम जारी रहेको छ । तत्पश्चात् संयोजक डा. बाबुराम भट्टराईले बैठकलाई सम्बोधन गर्ने र बैठकले प्रस्तुत प्रस्तावहरु आवश्यक परिमार्जनसहित पारित गरेर आगामी कार्ययोजना तयार गरिने नयाँ शक्तिले जनाएको छ ।