नयाँ शक्ति विद्यार्थी युनियनले भदौमा राष्ट्रिय सम्मेलन गर्ने

१७ साउन, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टीनिकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले आगामी भदौ २३, २४ र २५ गते काठमाडौंमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । युनियनको हालै काठमाडौंमा सम्पन्न सचिवालय बैठकले आगामी भदौमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा युनियनका संयोजक रमेश कुमार महतोले हाल विद्यमान केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलन मूल आयोजक समितिमा रुपान्तरित गरेर सम्मेलनको मिति तय गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक महतोले नयाँ शक्ति विद्यार्थी युनियनले विगत एक वर्षदेखि नेपाली विद्यार्थी आन्दोलनमा बैकल्पिक विचार, संस्कृति र कार्यक्रमका लागि नेतृत्वदायी भूमिका खेलेको र नेपालको शैक्षिक प्रणाली र नेपाली विद्यार्थी आन्दोलनलाई समयसापेक्ष रुपान्तरण गर्न निरन्तर खोज, अनुसन्धान र घनिभुत बहसमा सक्रिय भएर लागेको बताउनुभयो ।

बैठकले सरकारी तलब खाने कुनै पनि निकायमा दलीय पेशागत संघ/संस्था खारेज गर्न नेपाल सरकारसँग माग गरेको छ । त्यस्तै शैक्षिक क्षेत्रमा व्याप्त दलीय भागबन्डाको अन्त्यको माग गर्दै यसको विरुद्धमा निरन्तर संघर्ष गर्ने नयाँ शक्ति विद्यार्थी युनियनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै देशको समसामयिक विषयमा युनियनले ध्यानाकर्षण गर्दै मेडिकल शिक्षामा ब्याप्त माफियाकरणको विरुद्धमा डा.गोविन्द केसीले गरेको अनसन, आन्दोलनलाई पूर्ण समर्थन गर्दै, डा. केसीका जायज मागहरुलाई सम्बोधन गरी उहाँको जीवन रक्षाको माग गरेको छ ।

युनयिनले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बुढीगण्डकी आयोजना निर्माणका लागि चीनको गेजुवा कम्पनीसँग गरिएको सम्झौता राष्ट्रको हित विपरित भएकोले तत्काल खारेज गरी उक्त आयोजना नेपाली जनताको आफ्नै लगानीमा सम्पन्न गर्नसमेत माग गरेको छ ।