अनशनरत डा. गोविन्द केसीको समर्थनमा नयाँ शक्तिसहितको जनप्रदर्शन

२१ साउन, २०७४

 

काठमाडौं – सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवाको माग राख्दै अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीको समर्थनमा जनप्रदर्शन सम्पन्न भएको छ । नयाँ शक्ति पार्टी, साझा विवेकशील पार्टी तथा स्वतन्त्र रुपले क्रियाशील बुद्धिजीवी, पेशाकर्मी तथा नागरिक अगुवाहरुले शनिबार काठमाडौंमा बृहत जनप्रदर्शन गरेका हुन् ।

गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दै पटकपटक अनशन बसेका डा. केसी अहिले ११ औं पटक अनशनरत रहनुभएको छ । उहाँको ११ औं पटकको अनशन १३ औं दिनसम्म जारी रहँदा पनि सरकारले उहाँको मागको सुनुवाई नगरेको भन्दै जनदबाबका लागि डा. केसीको समर्थनमा स्वतन्त्र ऐक्यबद्धता समूहले यो जनप्रदर्शन सम्पन्न गरेको हो ।

काठमाडौंको माइतिघर मण्डलाबाट सुरु भएको र्याली बबरमहलहुँदै नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । संक्षिप्त कोण सभालाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तथा नागरिक अगुवा कृष्ण पहाडीलगायतले सम्बोधन गर्नुभएको थियो ।

वक्ताहरुले आम जनताको स्वास्थ्य सेवासँग जोडिएको डा. गोविन्द केसीको माग तत्काल पूरा गरेर उहाँको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् । कार्यक्रममा सांसद्हरु स्वास्थ्य क्षेत्रका माफियाको चंगुलमा फसेको भन्दै प्रतीकात्मक धामी झाँक्रीको प्रहसनमार्फत आँखा खोल्न आग्रह गरिएको थियो ।

हेर्नुहोस् जनप्रदर्शनका थप तस्बिरहरु ः