राष्ट्रिय युवा अभियानले असोज २६ गते प्रथम संघीय महाधिवेशन गर्ने

२६ साउन, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टीको युवा संगठन राष्ट्रिय युवा अभियानले आगामी असोज २६–२८ गते काठमाडौंमा प्रथम संघीय महाधिवेशन गर्ने भएको छ । बिहिबार काठमाडौंमा सम्पन्न अभियानको प्रथम संघीय महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले प्रथम संघीय महाधिवेशनको मिति तय गरेको हो ।

बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु निर्माण गरी जिम्मेवारी तोकेको छ । जस क्रममा अभियानका संयोजक कमल शाहीको संयोजकत्वमा निर्वाचन समिति, प्रतिनिधि छनौट एवं व्यवस्थापन समिति निर्माण गरिएको छ । बैठकले सन्देश कार्कीको संयोजकत्वमा आर्थिक समिति, टेकेन्द्र जोशीको संयोजकत्वमा प्रचार प्रसार तथा व्यवस्थापन समिति, जीएस गुरुङ र सौगात पोखरलेको संयोजकत्वमा विधान तथा प्रतिवेदन निर्माण समिति, महाधिवेशन कार्यविधि निर्माणका लागि विरेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति निर्माण गरिएको बैठक पश्चात् जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै बैठकले वैदेशिक रोजगारीका लागि विदेशिएका युवाहरुलाई आगामी प्रदेश तथा संघको निर्वाचनमा सहभागिता गराउन विदेशमा रहेका दुतावास तथा वाणिज्य दुतावासहरुमार्फत मतदाता नामावली संकलन गर्न सरकारसँग माग गरेको छ ।

बैठकले समसामयिक राजनीतिक विषयमा अभियानको ध्यानकर्षण गराउँदै भुटानको उत्तरी सीमाना दोक्लाम क्षेत्रमा दुई छिमेकी देश चीन र भारतबीच बढ्दै गएको सीमा विवाद र त्यसले निम्त्याउने समस्याप्रति चिन्ता व्यक्त गरेको छ । अभियानले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी निर्माणमा आफ्नै पूँजी, श्रम र लगानीमा निर्माण गर्नसमेत सरकारसमक्ष माग गरेको छ ।


डाउनलोड