नेपाल प्रेस सोसाइटीले आगामी मंसिरभित्र प्रथम राष्ट्रिय महाधिवेशन गर्ने

२८ साउन, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टीनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस सोसाइटीले आगामी २०७४ मंसिरमसान्तभित्र प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार काठमाडौंमा सम्पन्न सोसाइटीको केन्द्रीय परिषदको बिस्तारित बैठकले आगामी मंसिरभित्र राष्ट्रिय महाधिवेशन गर्ने भएको हो । साथै केन्द्रीय महाधिवेशनका लागि असोज मसान्तभित्र जिल्ला एवं कात्तिक मसान्तभित्र प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी बैठकले सम्पूर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई सम्पूर्ण श्रमजिवी पत्रकारहरुको साझा संगठनको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सो उद्देश्य पूर्तिका लागि महासंघको आसन्न २५औं महाधिवेशनमा संगठनले सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ ।

सोसाइटीका संयोजक रुद्र प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनलाई लक्षित गर्दै अन्य पत्रकार संगठनहरुसँग चुनावी सहकार्य तथा रणनीति निर्माणका लागि वार्ता समिति एवं निर्वाचन परिचालन तथा समन्वय समितिसमेत गठन गरेको छ ।

बैठकले विदुर खड्का, केशव अर्याल र सुदर्शन खतिवडा सम्मिलित वार्ता समिति गठन गरेको छ भने सम्पूर्ण प्रदेशका संयोजक, सहसंयोजक तथा काठमाडौंमा उपलब्ध केन्द्रीय परिषद् सदस्यहरु रहने गरी योगेन्द्र प्रताप शाहीको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरेको बैठक पश्चात् संयोजक रुद्र भट्टले शनिबार जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अन्य संगठन परित्याग गरी तथा स्वतन्त्ररुपले नेपाल प्रेस सोसाइटीमा आवद्ध हुने पत्रकारहरुलाई स्वागत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंबाट केन्द्रीय पार्षदमा निर्वाचित शिव बस्नेत, नेपाल पत्रकार महासंघ बाँके शाखाबाट निर्वाचित केन्द्रीय पार्षद विरेन्द्र पुन, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्वसहसचिव विष्णु आचार्यलगायतलाई नेपाल प्रेस सोसाइटीमा स्वागत गर्दै संगठनको केन्द्रीय परिषद सदस्यको जिम्मेवारी दिने निर्णय गरियो ।’