प्रदेश नं. २ को बैठक तथा प्रशिक्षण सम्पन्न, स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय

११ भदौ २०७४

जनकपुर । नयाँ शक्ति पार्टी, नेपालको प्रदेश नं. २ को बैठक १० गते र प्रशिक्षण ११ गते जनकपुरमा सम्पन्न भएको छ । बैठकले असोज २ मा हुने प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै राष्ट्रिय मामिला संयन्त्रका संयोजक रामरिझन यादवको संयोजकत्वमा १५१ सदस्यीय स्थानीय निर्वाचन परिचालन समिति बनाएको छ ।

प्रशिक्षणमा केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभाग संयोजक गंगानारायण श्रेष्ठ, प्रशिक्षण विभाग संयोजक डम्बर खतिवडा, संसदीय मामिला तथा सत्ता सञ्चालन विभाग संयोजक केशव दाहाल, स्रोत परिचालन तथा व्यवस्थापन समिति संयोजक नारायणराज पाण्डे र नयाँ शक्ति पार्टीको निर्वाचन आयोगका प्रमुख आयुक्त कृष्ण शर्माले बिभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा केन्द्रीय कार्यालयको तर्फबाट बाढीपीडितहरूलाई राहत वितरणको लागि दुई लाख रुपैयाँ नगद, एक सय ५० जोर महिला तथा बालबालिकाको लागि कपडा, ५८ थान ब्लांकेट, १५ थान ज्याकेट प्रदेश ईन्चार्ज अरविन्द साह र संयोजक डा. सुरेन्द्र यादवलाई हस्तान्तरण गरिएको कार्यालय व्यवस्थापन तथा अनुगमन विभाग संयोजक श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पनि प्रदेश नं. २ मा राहत वितरणका लागि सात लाख रुपैयाँ केन्द्रीय कार्यालय हस्तान्तरण गरेको र प्रदेश नं. २ का विभिन्न जिल्लामा राहत वितरण गरिएको थियो ।