हँसिया चुनाव चिन्ह लिएर नयाँ शक्ति चुनावी मैदानमा

१५ भदौ, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपाल यहि असोज २ गतेका लागि तय गरिएको २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि हँसिया चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिने भएको छ ।

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बिच संयुक्त रुपले एकल चुनाव चिन्ह प्रयोग गर्ने विषयमा सहमति भएको हो ।

एकल चुनाव चिन्ह साझेदारी गर्ने सम्झौतापत्रमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष गणेश शाहले हस्ताक्षर गर्नुभएको छ । सम्झौतालाई निर्वाचन आयोगले अनुमोदन गरेसँगै अन्तिम चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्तिको चुनाव चिन्ह टुंगिएको हो ।

सम्झौता अनुसार संयुक्त उम्मेदवार मनोनयनका लागि दुवै पार्टीको तर्फबाट आधिकारिक दस्तखत र छापसहितको मनोनयन पत्र केन्द्रबाटै निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा पठाइने र सोही अनुसार आपसी सहमतिमा उम्मेदवारी दर्ता गरिने दुवै पार्टीले जनाएका छन् ।

संयुक्त चुनाव चिन्ह प्रयोग गरेपनि दुवै पार्टीको आआफ्नो साझा पहिचानसहित संयुक्त उम्मेदवार मनोनयन गरी चुनावमा भाग लिन लागेको नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यालयका संयोजक गंगा नारायण श्रेष्ठले बताउनुभयो ।