स्थानीय तह निर्वाचनका लागि बारामा नयाँ शक्तिको उल्लासमय मनोनयन दर्ता

२१ भदौ, २०७४

सिमरा – प्रदेश नं. २ मा आगामी असोज २ गते हुन गइरहेको अन्तिम चरणको स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै गर्दा चुनावी प्रतिस्पर्धाका लागि नयाँ शक्ति बाराले उल्लासमय वातावरणका साथ मनोनयन दर्ता गरेको छ ।

नयाँ शक्तिले जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका प्रमुख पदमा अमन मन्सुरीलाई प्रतिस्पर्धामा उतारेको छ भने उपप्रमुखमा सहेला खातुनले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यसैगरी फेटा गाउँपालिका अध्यक्ष पदमा सीतादेवी कोइरी र उपाध्यक्षमा राम असिस मेहताले उम्मेदवारी दर्ता गराउनुभएको छ । परवानीपुर गाउँपालिका अध्यक्षमा भदै मियाहवारी तथा उपाध्यक्षमा रसुलवानु खातुनको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै स्वर्णपुर गाउँपालिका अध्यक्षमा अशोक यादव र उपाध्यक्षमा कान्तिदेवी साहको उम्मेदवारी दर्ता भएको छ भने देउताल गाउँपालिका अध्यक्षमा रामेश्वर सहनी तथा उपाध्यक्षमा लालसा देवीको मनोनयन दर्ता भएको नयाँ शक्ति पार्टीका बारा जिल्ला संयोजक सुशील यादवले बताउनुभएको छ ।

नयाँ शक्ति बाराले उम्मेदवारी दर्तासँगै चुनावी प्रचार अभियानलाई तीव्र रुपमा संचालन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)सँगको चुनावी एकतासँगै हँसिया चुनाव चिन्ह लिएर स्थानीय तह निर्वाचनमा उत्रिएको नयाँ शक्तिले बारा जिल्लामा चुनावी अभियानको प्रचारप्रसारका लागि प्रचार समिति तथा अन्य व्यवस्थापनका लागि आर्थिक स्रोत परिचालन समिति निर्माण गरेको छ ।

जिल्ला संयोजक सुशील यादवको संयोजकत्वमा वार्ता समिति निर्माण गरेको छ भने प्रमोद मण्डलको संयोजकत्वमा १५ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । त्यसैगरी ओम बाबु गुप्ताको संयोजकत्वमा १५ सदस्यीय आर्थिक परिचालन समिति निर्माण गरी चुनावी प्रचार अभियान सुरु गरिएको जिल्ला संयोजक यादवले बताउनुभयो ।