बाराको परवानीपुरमा नयाँ शक्तिको चुनावी अन्तरक्रिया

२२ भदौ, २०७४

सिमरा – नयाँ शक्ति पार्टी बाराले स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा जिल्लाका स्थानीय तहहरुमा चुनावी गतिविधिलाई तीव्र बनाएको छ । नयाँ शक्तिले बिहीबार बिहान बाराको परवानीपुर गाउँपालिका वडा नं. १ बुनियादीमा पार्टीका स्थानीय अभियन्ता, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयबासीहरुसँग चुनावी अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा नयाँ शक्ति बाराका जिल्ला संयोजक सुशील यादव, महाधिवेशन आयोजक समिति सदस्य मनिकर कार्की, पार्टीको जिल्ला संगठन विभाग प्रमुख तथा चुनावी प्रचार समितिका संयोजक प्रमोद मण्डल, जिल्ला युवा विभाग प्रमुख तथा चुनावी आर्थिक परिचालन समिति संयोजक ओम बाबु गुप्ता, परवानीपुर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार भदै मिया हवारीलगायतले बोल्दै नयाँ शक्तिले आर्थिक विकास र समृद्धिको एजेण्डालाई गाउँघरसम्म पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।

आसन्न स्थानीय तह निर्वाचनमा चुनावी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेसँगै नयाँ शक्तिले यहाँका गाउँगाउँमा चुनावी प्रचार अघि बढाएको हो । नयाँ शक्तिले यहाँका गाउँघरमा चुनावी भेला, सभा, अन्तरक्रिया गर्नुका साथै घरदैलोसहितको प्रचार अभियान जारी राखेको छ ।

नयाँ शक्तिले परवानीपुर गाउँपालिकाबाट अध्यक्ष पदमा भदै मिया हवारी एवं उपाध्यक्ष पदमा हसुलबानो खातुनलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । त्यसैगरी गाउँपालिकाको वडा नंं १ अध्यक्षमा फुलसरिक हवारी, २ मा हजारी साह, ३ मा चन्दादेवी राम र वडा नं. ४ बाट नगिना साह कानुलगायतलाई प्रतिस्पर्धामा उतारेको छ ।

नयाँ शक्तिले चुनावी प्रचारका लागि सबै नगर तथा गाउँपालिकाका उम्मेदवारहरुको फोटोसहितको प्रचार सामग्री तयार गरेर प्रचार गर्ने, पम्प्लेटिङ, पोस्टर, पर्चाहरु तयार गरी वितरण गर्ने, प्रत्येक गाउँटोलमा चुनावी सभा तथा अन्तरक्रिया गर्ने, उम्मेदवारहरुसहितको परिचयात्मक अभियान संचालन गर्ने, गाउँघरमा नियमित घरदैलो गरी प्रचार अभियानलाई तीव्र बनाउने रणनीति अख्तियार गरेको चुनावी प्रचार समितिका संयोजक प्रमोद मण्डलले बताउनुभयो ।