बाराको फेटा गाउँपालिकामा नयाँ शक्तिको चुनावी भेला

२३ भदौ, २०७४

सिमरा – प्रदेश नं. २ मा हुन गइरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । गाउँगाउँका बजारहरु चुनावी प्रचार सामग्रीले रंगिएका छन् भने सडकमा गुड्ने सवारी साधनहरुमा चुनावी गीत घन्किन थालेको छ ।

यसै क्रममा नयाँ शक्ति पार्टीले पनि बारा जिल्लामा चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ । नयाँ शक्तिले गाउँगाउँमा चुनावी भेला, अन्तरक्रिया तथा छलफलसहित घरदैलो गरिरहेको छ । छलफलकै क्रममा बिहीबार नयाँ शक्तिले बारा जिल्लास्थित फेटा गाउँपालिका वडा नं. १ स्थित त्रिवेणीमा चुनावी भेला गरेको छ ।

नयाँ शक्तिले फेटा गाउँपालिका अध्यक्ष पदमा सीता देवी कोइरीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ भने उपाध्यक्षमा शिक्षण पेशाबाट राजीनामा दिएर राम अशिस महतो चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । महतो गाउँको विकास र परिवर्तनका लागि भन्दै सामुदायिक विद्यालयको ८ वर्षे शिक्षण पेशा छाडेर राजनीतिमा उत्रिनुभएको हो ।

नयाँ शक्तिले फेटा गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा दीपेन्द्र साह, २ मा सइदमिया मन्सुरी, ३ मा वृज किशोर गुप्ता, ४ मा गणेश प्रसाद साह, ५ मा असाह मिया आलम र वडा नं. ६ मा अमान्नुलाह मियालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

गाउँमा पछाडि परेका महिलालाई अधिकार सम्पन्न बनाउने तथा गाउँमा प्रवाहित हुने बजेट गाउँकै हितमा प्रयोग गर्ने अनि नयाँ शक्तिको गाउँलाई सम्पन्न र समृद्ध बनाउने अभियानलाई सार्थकता दिन आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उपाध्यक्ष पदका प्रत्यासी राम अशिस महतोले बताउनुभयो ।

चुनावी भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति बाराका जिल्ला संयोजक सुशील यादव, महाधिवेशन आयोजक समिति सदस्य तथा सञ्चार विभाग सदस्य मनिकर कार्की, संघीय परिषद् सदस्य उमरादेवी यादवलगायतले बोल्दै नयाँ शक्ति पार्टीको एकमात्र दृष्टि भेदभाव र उत्पीडनको अन्त्य गर्दै समृद्धि हासिल गर्नु रहेको बताउनुभयो ।

त्यस्तै गाउँमा चुनावी प्रचारका लागि प्रचार रणनीति तयार गर्दै पार्टीले आवश्यक प्रचारसामग्रीसहित घरदैलो अभियानलाई तीव्र बनाउने जिल्ला प्रचार समितिका संयोजक प्रमोद मण्डलले बताउनुभयो ।