चन्द्रपुरमा नयाँ शक्तिकी रञ्जु गौतमको १० प्रतिबद्धता

२३ भदौ, २०७४

चन्द्रपुर (रौतहट) – नयाँ शक्ति पार्टीले रौतहटको चन्द्रपुर नगरपालिकाको उपमयेर पदमा रञ्जु गौतम तिमल्सिनालाई चुनावी मैदानमा उतारेको छ । गौतमले पुराना पार्टीहरुको गतिविधिबाट दिक्क भएका जनतालाई नयाँ विकल्प दिनका लागि र नगरमा हुने सम्पूर्ण किसिमका अनियमितताहरुको अन्त्य गरी स्वस्थ, पारदर्शी प्रशासन र सुशासन कायम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेसँगै २६ वर्षीय रञ्जुले चन्द्रपुर नगरपालिकाको समृद्धि र सुशासनका लागि १० बुँदे प्रतिबद्धता जारी गर्नुभएको छ । उहाँले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आफ्नो ५ वर्षे कार्यकालमा गर्ने प्रमुख कामहरुको सूचि सार्वजनिक गर्नुभएको छ ।

५ वर्षभित्र नगरका सबै वडाका सडकहरु स्तरोन्नतिसहित कालोपत्र गर्ने, नगरका बेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने, जुडिबेला, गैंडाटार, पौराईलगायतका क्षेत्रमा सिंचाईको व्यवस्था गर्ने, नगरका सम्पूर्ण गाउँबस्तीमा स्वच्छ सफा खानेपानी पुर्याउने, नगरमा हुने आर्थिक अनियमितता तथा भ्रष्टाचार अन्त्य गर्ने, भूमिहिनलाई भूमिको व्यवस्था गर्ने, नगरमा शीत भण्डारनको व्यवस्था गर्ने, कृषि बाली तथा पशु बीमा संचालन गर्ने लगायतका प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै वडा नं. १ का अध्यक्ष पदका उम्मेदवार दिल कुमार काफ्लेले वडाबासीहरु अहिले पनि स्वास्थ्य, शिक्षा, सञ्चार जस्ता आधारभूत सेवाबाट बञ्चित हुनुपरेको भन्दै सबैभन्दा पहिले ती सेवाहरु विस्तार गर्ने बताउनुभयो । उहाँले पौराईमा स्वास्थ्य संस्था स्थापना गर्ने, घरघरमा खानेपानीको व्यवस्था गर्ने, साबिक पौराई गाविसका ४, ५ र ६ वडाहरुलाई लक्षित गरी एक उच्च मावि स्थापना गर्ने, गाउँमा सिंचाईको लागि डिप बोरिङ गरी पानीको व्यवस्था गर्ने लगायतको योजना सार्वजनिक गर्नुभएको छ ।

चुनावी अभियानलाई सफल बनाउन फरक शैलीको चुनावी अभियान संचालन गर्ने नयाँ शक्तिका चन्द्रपुर नगर इन्चार्ज मनोज तिमल्सिनाले बताउनुभयो । उहाँले तामझाम र भड्किलो चुनाव शैलीको सट्टा सकेसम्म सबै नगरबासीको घरघरमा पुगेर मत माग्ने योजना रहेको बताउनुभयो । त्यस्तै सामाजिक सञ्जाल, स्थानीय मिडियामार्फत प्रचार अभियान अघि बढाइरहेको बताउनुभयो ।

यसैबिच नयाँ शक्ति पार्टीले जिल्लाको राजपुर नगरपालिका प्रमुखमा शेख अब्दुल कदिर एवं उपप्रमुखमा शर्मिला कोइराला साहलाई प्रतिस्पर्धामा उतारेको छ । त्यस्तै फतुवा विजयपुर नगरपालिका प्रमुखमा रामशिष उपाध्याय तथा मौलापुर नगरपालिका प्रमुखमा रजन साह तथा उपप्रमुखमा पान देवीलाई चुनावी प्रतिस्पर्धामा उतारेको नयाँ शक्ति रौतहटका जिल्ला संयोजक किरण साहले बताउनुभयो ।