राजपुरमा नयाँ शक्तिको प्रचार अभियान जारी

२४ भदौ, २०७४

चन्द्रपुर (रौतहट) – नयाँ शक्ति पार्टीले रौतहट जिल्लाको राजपुर नगरपालिकामा चुनावी प्रचारलाई व्यापक बनाएको छ । यहाँ नयाँ शक्तिले नगर प्रमुख पदमा अब्दुल कादिरलाई चुनावी मैदानमा उतारेको छ भने उपप्रमुख पदमा शर्मिला कोइराला साहलाई अगाडि सारेको छ ।

चुनावी प्रचारलाई व्यापक बनाएको नयाँ शक्तिले राजपुर नगरपालिकाको सर्वांगिण विकास र समृद्धिलाई नै आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको चुनाव प्रचारमा सक्रिय नयाँ शक्ति रौतहटका जिल्ला संयोजक किरण साहले बताउनुभयो ।

नयाँ शक्तिले नगरका सबैजसो वडाहरुमा उम्मेदवारी दर्ता गराएको छ । वडा नं. २ को अध्यक्षमा शेख मोहम्मद, ३ मा सम्सुल होडा, ४ मा हाजी शेख मालिक, ५ मा कृष्णदास राम, ७ मा शेख सकूर, ८ मा प्रधुम्न साह र वडा नं. ९ मा राज किशोर साहसहितको प्यानललाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

नयाँ शक्तिका तर्फबाट प्रमुख र उपप्रमुख पदको प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले राजपुर नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने घोषणासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । संयुक्त प्रतिबद्धतापत्रमा समाजमा व्याप्त सामाजिक तथा सांस्कृतिक भेदभाव अन्त्य गर्ने, किसानलाई उन्नत बिउबिजन उपलब्ध गराउने, कृषि बजारको विकास गर्ने, मदरसा, विद्यालय तथा क्याम्पसको भौतिक पूर्वाधारको स्तरोन्नति गरी शैक्षिकस्तर उकास्ने, खेलकुद रंगशाला निर्माण गर्ने, सिंचाईंको उचित प्रबन्ध गर्नेलगायतका विषयहरु उल्लेख गरिएका छन् ।

उम्मेदवार मनोनयन दर्तासँगै व्यापक चुनावी प्रचारप्रसारमा उत्रिएको नयाँ शक्तिले नगरका विभिन्न वडाहरुमा चुनावी भेला, छलफल, र्याली तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको जिल्ला संयोजक साहले बताउनुभयो । राजपुर नगरपालिकामा चुनावी विजयी सुनिश्चित गर्न व्यापक रुपले चुनावी परिचालनमा उत्रिएको उहाँले बताउनुभयो ।