रौतहटमा नयाँ शक्तिको चुनावी प्रचार तीव्र

२५ भदौ, २०७४

चन्द्रपुर (रौतहट) – अन्तिम चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुमा चुनावी चटारो बढ्दै गएको छ । तराई मधेशका गाउँसहर दलहरुका प्रचार सामग्रीले रंगिएका छन् भने दलका नेता, कार्यकर्ता एवं समर्थकहरु चुनावी प्रचारमा व्यस्त देखिन्छन् ।

यसैबिच नयाँ शक्ति पार्टीले रौतहट जिल्लाका विभिन्न स्थानीय तहहरुमा चुनावी भेला, छलफल, अन्तरक्रिया जस्ता कार्यक्रमहरुलाई तीव्र बनाएको छ । उम्मेदवार मनोनयन दर्तासँगै व्यापक चुनावी प्रचारप्रसारमा उत्रिएको नयाँ शक्तिले रौतहटका विभिन्न स्थानीय तहहरुका सहर एवं गाउँहरुमा चुनावी गतिविधि बढाएकोे नयाँ शक्ति पार्टीका रौतहट जिल्ला संयोजक किरण साहले बताउनुभएको छ ।

चुनावी अभियानकै क्रममा नयाँ शक्तिले शनिबार गरुडा नगरपालिकाको वडा नं. ५ मा र्यालीसहितको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) सँग चुनावी सहकार्य गर्दै एकल चुनाव चिन्ह हँसिया लिएर चुनावी मैदानमा उत्रिएको नयाँ शक्तिले वडा नं. ५ को वडा अध्यक्ष पदमा जय प्रकाश यादव र दलित महिला सदस्य पदमा प्रेम कुमारी दासलाई चुनावी मैदानमा उतारेको छ ।


त्यस्तै नगर प्रमुख पदमा नेकपा संयुक्तको तर्फबाट मोहन दास र उपप्रमुखमा विन्दु देवी यादवले उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताभएसँगै चुनावी प्रचारलाई तीव्र बनाएको नयाँ शक्तिले ५ नम्बर वडामा विशेष चुनावी अभियान संचालन गरेको हो ।

वडा अध्यक्ष पदका उम्मेदवार यादवले आफूले विजयी हासिल गरे सबैभन्दा पहिले गाउँको खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई जस्ता अत्यावश्यक सेवालाई गाउँघरमा व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँमा सहज आवागमनका लागि भएको सडकको स्तरोन्नति गर्ने र नयाँ सडक निर्माण गर्ने योजना रहेको बताउनुभएको छ ।

त्यस्तै महिला सशक्तिकरणका लागि सीपमूलक कार्यक्रमहरु संचालन गर्ने तथा महिला एवं पिछडिएको वर्गलाई राजनीतिक, सामाजिक एवं सांस्कृतिक रुपले समाजमा स्थापित गर्ने बताउनुभयो ।