लालबन्दीलाई व्यवस्थित र पूर्वाधारले सम्पन्न नगर बनाउने नगर प्रमुख पदका उम्मेदवार काफ्लेको घोषणा

२५ भदौ, २०७४

लालबन्दी – नयाँ शक्ति पार्टीका सर्लाही जिल्लास्थित लालबन्दी नगरपालिका प्रमुखका प्रत्यासी मुकुन्द प्रसाद काफ्लेले लालबन्दी नगरपालिकालाई व्यवस्थित र पूर्वाधारले सम्पन्न नगर बनाउने घोषणा गर्नुभएको छ ।

पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट सक्रिय भएर राजनीतिक यात्रा सुरु गर्नुभएका काफ्ले सरकारी कर्मचारी हुँदै जागिरबाट स्वेच्छिक अवकाश दिएर राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहनुभएको छ । उहाँले एक कुराकानीका बिच लालबन्दी नगरलाई व्यवस्थित र सम्पूर्ण विकासका पूर्वाधारले सम्पन्न नगर बनाउने बताउनुभएको हो ।

उहाँले समाजमा व्याप्त महिला हिंसा अन्त्य गरी, विधुवा तथा एकल महिलालाई हेर्ने अन्याय र भेदभावपूर्ण दृष्टिकोण परिवर्तन नै आफ्नो मुख्य सामाजिक एजेण्डा भएको बताउनुभयो । नगर प्रमुख पदका प्रत्यासी काफ्लेले नगरलाई व्यवस्थित सहरको रुपमा विकास गर्दै यहाँको फोहोरमैला व्यवस्थापन गरी सुन्दर र हराभरा बनाउने बताउनुभयो ।

उहाँले निजी र सरकारी विद्यालयको अन्तरलाई हटाई गुणस्तरीय शिक्षा लागू गर्ने, प्रत्येक वडामा कम्तीमा ५ शैयाको अस्पताल बनाउने, सर्पदंशको उपचार हरेक वडाबाट उपलब्ध गराउने, वाग्मती सिचाईंको पूर्वी शाखाबाट प्रशाखा नहर निर्माण गरी सिंचाई उपलब्ध गराउने, नगरभित्रका कृषि सडकहरुको स्तरोन्नति गर्ने, किसानलाई सहुलियत दरमा मल बिउबिजन उपलब्ध गराउनेलगायतका प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


त्यसैगरी नयाँ शक्ति पार्टीकै तर्फबाट नगरको उपप्रमुख पदकी दाबेदार झम्का कुमारी धितालले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गरी नगरपालिकालाई महिला तथा बालबालिकामैत्री नगरको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई पूर्ण निःशूल्क शिक्षा दिलाउने घोषणा गर्नुभएको छ । त्यसैगरी नगरपालिकाभित्र हुने गरेका सम्पूर्ण अनियमितता रोक्ने र नगरको आर्थिक स्रोतलाई गरिब तथा विपन्नलाई प्रत्यक्ष हित हुने क्षेत्रमा प्रयोग गर्ने, बाँझो जमिनमा उत्पादन गर्ने, रोजगारी उपलब्ध गराउने, घरघरमा खानेपानी पुर्याउने लगायतका योजना सार्वजनिक गर्नुभएको छ ।

नयाँ शक्ति पार्टीले लालबन्दी नगरपालिकाको प्रमुख र उपप्रमुखको साथै वडा नं. ५ को अध्यक्ष पदमा राज कुमार चौधरी र सदस्य तथा महिला सदस्य पदमा डोलराज घिमिरे र सीया कुमारी महतोलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । त्यस्तै वडा नं. ७ को अध्यक्ष पदमा फूलमाया कालिकोटेले मनोनयन दर्ता गराउनुभएको छ ।

उम्मदेवारी दर्ता गरेसँगै नयाँ शक्तिले नगरपालिका क्षेत्रमा चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ । चुनाव प्रचारकै क्रममा नयाँ शक्तिले आइतबार नगरको रञ्जीतपुर, जंगलटोल, शान्तिटोल, नयाँ बस्तीलगायतका क्षेत्रमा चुनावी र्याली तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको पार्टीका क्षेत्र नं. १ का संयोजक उत्तर बहादुर लामिछानेले बताउनुभयो ।

तामझाम र भड्किलो चुनाव शैलीको सट्टा अत्यावश्यक प्रचार सामग्रीसहित सबै नगरबासीको घरघरमा पुगेर मत माग्ने योजना रहेको चुनाव प्रचारमा सक्रिय नयाँ शक्ति पार्टीका संघीय परिषद् सदस्य पञ्चराम तामाङले बताउनुभयो ।