जनकपुरधामलाई आधुनिक एवं सांस्कृतिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता

२६ भदौ, २०७४

 

जनकपुरधाम – आउँदो असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरापालिकाको प्रमुख पदका उम्मेदवार उमेश साहले जनकपुरधामलाई आधुनिक एवं सांस्कृतिक सहरको रुपमा विकास गर्दै जनकपुरधामको स्वच्छता कायम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले उपमहानगरको व्यवस्थित सडक निर्माण, ढल निकासको स्थायी समाधान तथा फोहोरमैलाको दीगो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको हो । स्थानीय चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले जनकपुरधामको धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्बद्र्धन एवं प्रवद्र्धन गर्ने, ग्रामीण सडकहरुको स्तरोन्नति गर्ने, युवाहरुका लागि रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारका कार्यक्रमहरु संचालन गर्ने जस्ता योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

उहाँले आफ्नो चुनावी घोषणापत्रमा उपमहानगरको विकृति विसंगतिको अन्त्य गर्ने, भ्रष्टाचार र बेथितीको अन्त्य गर्ने, जनकपुरधामको गरिमा, महत्ता र सभ्यतालाई प्रवद्र्धन गर्ने, धार्मिक तथा सार्वजनिक स्थलहरुमा भइरहेको अतिक्रमण रोक्ने, राजर्षी जनक विश्वविद्यालय स्थापना गर्ने तथा शैक्षिक क्षेत्रको सुधार गर्ने, असहाय तथा वृद्धवृद्धाहरुको लागि आवासको व्यवस्था गर्ने, गरिब विपन्न वर्गका बालबालिकाहरुको लागि निःशूल्क शिक्षाको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

२५ वर्षदेखि सक्रिय रुपले पत्रकारिता पेशामा संलग्न साहले समाजसँग प्रत्यक्ष जोडिने चाहना एवं पुराना पार्टीहरु स्थानीयबासीहरुको समस्याप्रति प्रत्यक्ष रुपमा गम्भीर नभएकोले ती समस्या समाधान गर्न विकल्पको खोजी गर्दै पत्रकारिता पेशा छाडेर राजनीतिमा होमिएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)सँगको सहकार्यमा चुनावी मैदानमा उत्रिएको नयाँ शक्ति र नेकपा संयुक्तले जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख पदमा गीता देवी साहलाई चुनावी मैदानमा उतारेको छ ।



नयाँ शक्ति पार्टीले जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश वडाहरुमा प्यानलसहितको उम्मेदवारी दर्ता गराएको छ । यहाँको वडा नं. १ को वडा अध्यक्ष पदमा शिव शंकर साह, २ मा धर्म मण्डल, ३ मा महन्थ झा, ४ मा प्रदीप साह, ५ मा मोहम्मद फजले आलम, ६ को महिला वडा सदस्यमा किरण देवी साह, ७ को वडा अध्यक्षमा गणेश साह, ८ मा सुमित कर्ण, ९ मा राममणि साह, ११ मा श्याम बाबु मण्डल, १३ मा कारी साह, २३ मा मोहम्मद अजिज राईम र वडा नं. २५ को वडा अध्यक्ष पदमा अमना खातुनको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारको मनोनयन दर्तासँगै नयाँ शक्तिले जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाहरुमा चुनावी भेला तथा घरदैलो कार्यक्रम जारी राखेको छ । जसक्रममा वडा नं. ५ को सोनारपट्टी, मस्जिद टोललगायतका क्षेत्रमा घरदैलो सम्पन्न गरेको छ भने अन्य स्थानहरुमा जारी रहेको छ ।

त्यस्तै धनुषा जिल्लाका विभिन्न स्थानीय तहरुमा हुने निर्वाचन गतिविधिहरुलाई संयोजन गर्नका कार्यबाहक जिल्ला संयोजक महा शंकर ठाकुरको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति, प्रमोद कुमार यादवको संयोजकत्वमा ५ सदस्यीय प्रचारप्रसार समिति, राम उदीत रामको संयोजकत्वमा ६ सदस्यीय आर्थिक स्रोत परिचालन समिति, तथा रञ्जीत चौधरीको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समिति गठन गरी प्रचार अभियान अघि बढाइएको जिल्ला संयोजक ठाकुरले बताउनुभयो ।