मधेशको राजनीतिलाई नयाँ दिशा दिनुपर्छ : संयोजक डा. भट्टराई

२६ भदौ, २०७४

जनकपुरधाम – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेशको विकास र समृद्धिका लागि मधेशको राजनीतिलाई नयाँ दिशा दिनुपर्ने बताउनुभएको छ ।

सोमबार जनकपुरमा नयाँ शक्तिले आयोजना गरेको २ नं. प्रदेशको आर्थिक विकास र समृद्धिका लागि नयाँ शक्तिको अवधारणा सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अब मधेशमा राजनीतिका कुरा मात्र नभई आर्थिक विकास, समृद्धि र सुशासनलाई पनि जोड दिनुपर्ने बताउनुभएको हो ।

संयोजक भट्टराईले मधेश प्रदेशलगायत घोषित प्रदेशहरुको सीमांकनको विवाद अझै बाँकी रहेको भन्दै त्यसलाई राज्य पुनर्संरचना आयोगले सिफारिस गरेको प्रतिवेदनको आधारमा टुंग्याउनु पर्ने बताउनुभयो ।
ठूला दलहरु तराई मधेश तथा उत्पीडित समुदायको समस्याप्रति उदासिन भएको भन्दै सबै समुदायलाई बराबर अधिकार दिएर नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक इन्द्रेणी राष्ट्रियताले एकीकृत गर्नुपर्ने धारणा राख्नुभयो ।

‘संविधानप्रति असन्तुष्टि जनाउनेले संविधान जारी हुँदाकै बखत संसदबाट राजिनामा दिएर बाहिर आएको भए तत्काल संशोधनको संभावना बढ्थ्यो’ उहाँले मधेशवादी दलहरु नै मधेशको समस्या समाधानमा गम्भीर नभएको भन्दै भन्नुभयो –‘मधेशवादी दलहरुले संविधानप्रति असन्तुष्टि त जनाए तर, संसदबाट राजिनामा गरेर दबाब दिनुको साटो सत्ता बाँडफाँडमा सहभागी हुने सत्तामुखी चरित्र देखाए । परिणामस्वरुप यो मुद्दा सम्बोधन हुन सकेन ।’


उहाँले आउँदै गरेको स्थानीय तह निर्वाचनप्रति लक्षित गर्दै चुनाव एउटा लडाईं भएकोले चुनावमा स्थानीय तहको विकास र समृद्धिका योजना पस्किने अनि भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको स्वच्छ छवि भएका उम्मेदवारहरुलाई निर्वाचनमा जिताउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले २ नम्बर प्रदेशको आर्थिक विकास र समृद्धिकेन्द्रीत विभिन्न २० परियोजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्तिको संसदीय दलका नेता गंगा चौधरीले नयाँ शक्ति पार्टी हिमालदेखि तराई मधेशलाई जोड्ने पार्टी भएकोले सबै उत्पीडित समुदायको हक, अधिकार नयाँ शक्तिले नै स्थापित गर्ने बताउनुभयो । नेता चौधरीले नयाँ शक्ति चुनाव विरोधी होइन भन्ने प्रमाणित गर्नकै लागि अरुको चुनाव चिन्हमा चुनाव लड्न बाध्य भएको बताउँदै आउने प्रदेश र केन्द्रको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर चुनाव लड्ने पनि जनाउनुभयो ।



पार्टीका केन्द्रीय कार्यालय प्रमुख गंगा नारायण श्रेष्ठले पुराना राजनीतिक पार्टीका नेताहरु पैसाको बोरा बोकेर मतदातालाई किन्न हिंडिरहेको बताउँदै मतदातालाई पशु सम्झेर किनबेच गर्नेहरुका विरुद्ध जनता सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै २ नं. प्रदेशका संयोजक डा. सुरेन्द्र यादवले नयाँ शक्तिको चुनावी संलग्नता राजनीतिक शक्ति निर्माणका लागि भएको भन्दै अब वैकल्पिक राजनीतिको विकल्प नरहेको बताउनुभयो ।

नयाँ शक्तिको तर्फबाट जनकपुरधाम उपमहानगरपालिका प्रमुखका उम्मेदवार उमेश साहले जनकपुरको आधुनिक विकासको मार्गचित्र प्रस्तुत गर्नुभयो । नयाँ शक्ति पार्टीको २ नं. प्रदेश ईन्चार्ज अरविन्द साहले अध्यक्षता एवं डा. भोगेन्द्र झाको संचालनमा भएको कार्यक्रममा सहभागीहरुले जिज्ञासा एवं टिप्पणी गरेका थिए ।