जनकपुरको चुनावी प्रचारमा संयोजक डा. भट्टराई बिहानैदेखि सक्रिय

२७ भदौ, २०७४

जनकपुरधाम – आगामी असोज २ गतेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ शक्तिले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराई मंगलबार बिहानैदेखि नगरका विभिन्न टोलमा आयोजित चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्न खट्नुभएको छ ।

उहाँले मंगलबार बिहान जनकपुर उपमहानगरपालिकाको वडा नं. ५ को रहमानिया टोल र २३ लाडबेलाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । संयोजक भट्टराईले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै तराई मधेशको अविकासको मुख्य कारण भ्रष्टाचार नै भएकोले मधेशको समृद्धिका लागि भ्रष्टाचाररहित सुशासन अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले नयाँ शक्ति पार्टीले प्रदेश नम्बर २ को बृहत्तर विकास र समृद्धिका लागि नयाँ शक्तिले २१ वटा विशेष परियोजनाको परिकल्पना गरेको बताउँदै अयोध्या –जनकपुर सीधा रेल संचालन गर्ने, यस क्षेत्रको सिचाईंका लागि सुनकोशी –कमलामाई डाइभर्सन निर्माण गर्ने, हुलाकी राजमार्गलाई स्तरोन्नति गरी पूर्ण संचालन गर्नेलगायतका परियोजनाहरु निर्माण गरिने बताउनुभयो ।

उहाँले पुराना पार्टीहरु पूर्ण रुपमा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएकाले अब उनीहरुबाट विकास र समृद्धिको अपेक्षा गर्न नसकिने बताउँदै नयाँ शक्तिले मात्र मधेश अनि समग्र देशको विकास र समृद्धिको नेतृत्व लिने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्तिको तर्फबाट जनकपुरधाम उपमहानगरपालिका प्रमुखका दाबेदार उमेश साहले जनकपुरलाई आधुनिक एवं सांस्कृतिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उपमहानगरको व्यवस्थित सडक निर्माण, ढल निकासको स्थायी समाधान तथा फोहोरमैलाको दीगो व्यवस्थापन गर्ने जनकपुरधामको धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्बद्र्धन एवं प्रवद्र्धन गर्ने, ग्रामीण सडकहरुको स्तरोन्नति गर्ने, युवाहरुका लागि रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारका कार्यक्रमहरु संचालन गर्ने जस्ता योजनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।