पुराना दलहरु मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोज्दैछन् : संयोजक डा. भट्टराई

२७ भदौ, २०७४

धनुषाधाम – आगामी असोज २ गतेका लागि निर्धारण गरिएको २ नं. प्रदेशको चुनावी प्रचारमा हिंड्नुभएका नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मंगलबार धनुषाका विभिन्न स्थानहरुमा चुनावी कार्यक्रममा सहभागी हुनुभएको छ । चुनावी कार्यक्रमहरुमा सहभागिता जनाउँदै उहाँले मंगलबार दिउँसो धनुषाधाम नगरपालिका वडा नं. २ को मंगलपुर एवं वडा नं. ३ को तेजनगरमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुराना पार्टीहरुले चुनावको मुखमा सपनाको व्यापार गर्ने गरेको र आम मतदातालाई आर्थिक लोभलालच देखाएर प्रभावित पार्न खोजेको भन्दै त्यस्तो हर्कतका विरुद्ध जनता सचेत भएर आफ्नो अमूल्य मतको रक्षा गर्नुपर्ने बताउनुभयो ।

उहाँले पुराना दलहरुले चुनावमा धेरै आश्वासन दिने र बाचा गर्ने तर चुनावपछि ती सबै बाचा विर्सेर भ्रष्टाचारजन्य गतिविधिमा डुब्ने गरेको भन्दै त्यस्तो झुठो सपनाको पछाडि नलाग्नसमेत मतदातालाई आग्रह गर्नुभयो ।


देशको राजनीति फोहोर भएकोले त्यो फोहोर राजनीति सफा गर्नकै लागि नयाँ शक्तिको उदय भएको बताउँदै संयोजक डा. भट्टराईले भन्नुभयो – ‘जसरी पोखरीको माछा कुहिएपछि गन्हाउँछ, त्यसैगरी राजनीति पनि फोहोर भएर गन्हाएको छ । त्यो फोहोर सफा गर्ने आँट गर्नैपर्छ, नयाँ शक्तिले नयाँ यात्रा सुरु गरेर त्यो आँट गरेको छ ।’

उहाँले युवा र नयाँ पुस्ता मिलेर अब देशलाई नयाँ विकल्प दिनुपर्ने बताउँदै राजनीतिलाई पेशा नभई सेवाभावको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा धनुषाधाम नगरपालिकाको प्रमुख पदका दाबेदार नवराज बास्कोटाले आफू इमान्दारितापूर्वक जनताको सेवा गर्ने उद्देश्य राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो । उहाँले धनुषाधाम नगरपालिकाको धार्मिक एवं पर्यटकीय विकासका लागि आफू निरन्तर लागिरहने अठोट व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) सँगको साझेदारीमा निर्वाचनमा होमिएको नयाँ शक्तिले धनुषाधाम नगरपालिकाको उपप्रमुखमा लछुमनियादेवी यादवलाई उठाएको छ । त्यस्तै पार्टीले वडा नं. १ को वडा अध्यक्ष पदमा केशर मुखिया, २ मा श्रवण कुमार यादव, ३ मा शिवजी मण्डल, ४ मा मसुधन यादव, ५ मा चुनिशरण यादव, ६ मा सुवन यादव, ७ मा सन्तोष यादव र वडा नं. ९ को अध्यक्ष पदमा रञ्जीव यादवलाई चुनावी प्रतिस्पर्धामा उतारेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक प्रमोद कुमार यादवले जानकारी दिनुभयो ।