शिक्षक, प्राध्यापक र कर्मचारीको दलगत संगठन खारेज गर्न नयाँ शक्ति विद्यार्थी युनियनको माग

‘जहाँ विद्यार्थी, त्यहाँ समृद्धि र सुशासन’
२७ भदौ २०७४

काठमाडौं । नयाँ शक्ति विद्यार्थी युनियनले सरकारी तलब खाएर पार्टीको झण्डा बोक्ने शिक्षक, कर्मचारी र प्रधानाध्यापकको संगठन खारेज गर्न सशक्त आन्दोलन गर्ने भएको छ ।


नयाँ शक्ति निकट उक्त संगठनको यसै साता काठमाडौंमा सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनले यस्तो निर्णय गरेको हो । ‘विद्यालयदेखि विश्वविद्यालयसम्म सरकारको तलब खाएर पार्टीको झण्डा बोक्ने शिक्षक, कर्मचारी र प्रधानाध्यापकको संगठन खारेज गर्न सरकारसँग माग गर्ने तथा सशक्त अभियान चलाउने निर्णय गरिएको छ,’ संगठनको वक्तव्यमा भनिएको छ, ‘विद्यालय, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुमा बढ्दै गएको राजनीतिक भागबण्डा र त्यसले निम्त्याएको अस्तव्यस्तता अन्त्य गर्न अभियान सञ्चालन गर्छौं ।’


युनियनको यही भाद्र २३ र २४ गते प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले श्यामबाबु गौतमलाई अध्यक्ष र नेत्र चापागाईंलाई महासचिवमा निर्वाचित गरेको छ । संगठनको उपाध्यक्षमा रुपनारायण श्रेष्ठ, सन्दीप अधिकारी, तारा शर्मा, गोविन्द कँडेल, सिताराम सुचारु, जनक साउद, जितेन्द्र सिंह महरा, राजेश आले, युवराज ढकाल र दिपक महत्वलाई निर्वाचित गरेको छ ।


सम्मेलनले स्वास्थ्य शिक्षामा बढ्दै गएको माफियाकरण र यसले निम्त्याएको समस्या निराकरण गर्न राज्यसँग माग गर्दै, डा. गोविन्द केसीसाग विभिन्न चरणमा भएका सहमति कार्यान्वयन गर्न दबाव दिने अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।


सातै प्रदेशमा मुलुक संघीय संरचनामा जाँदा शिक्षा क्षेत्रको पुनर्संरचनाको र नयाँ शिक्षा प्रणालीको बारेमा बहस तथा गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको संगठनले जनाएको छ । यसैगरी प्लस टु तथा विभिन्न विश्वविद्यालय र क्याम्पसहरुमा राज्यले दिएको १०% छात्रवृत्ति कार्यान्वयन गर्न दबाव दिने र नयाँ शक्ति विद्यार्थी युनियनले प्रदेश संयोजकको नेतृत्वमा अनुगमन टिम निर्माण गर्ने निर्णय समेत उक्त संगठनले गरेको छ ।


५० लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा रहेको र जसमध्ये २ प्रतिशत दक्ष, २३ प्रतिशत अर्धदक्ष र बाँकी सबै अदक्ष्य जनशक्ति रहेको भन्दै संगठनले शिक्षालाई सीपमुलक, व्यवहारिक र जीवनपयोगी बनाउनेतर्फ अबको विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्छ भन्ने मान्यता राख्दै तदनुरुपको अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।


यसैगरी राजनीतिक अस्थिरताले शिक्षा क्षेत्रमा पनि प्रभाव पारेको भन्दै राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको पक्षमा शैक्षिक क्षेत्रबाट पनि आवाज बुलन्द गर्ने अभियानको नेतृत्व गर्ने निर्णय पनि नयाँ शक्ति विद्यार्थी युनियनले गरेको छ । ‘जहाँ विद्यार्थी, त्यहाँ समृद्धि र सुशासन’ अभियान आउँदा दिनहरुमा आफ्नो प्राथमिकता पर्ने संगठनले जनाएको छ ।

 


डाउनलोड