राजविराज नगरकाे विकासलाई केन्द्रमा राखेर काम गर्ने नयाँ शक्तिका उम्मेदवारहरुको घोषणा

२९ भदौ, २०७४

राजविराज – स्थानीय तह निर्वाचनका लागि सप्तरीको राजविराज नगरपालिका प्रमुख पदको प्रतिस्पर्धामा उत्रिनुभएकी नयाँ शक्ति पार्टीकी मीना ठाकुरले नगरको समग्र विकासको गतिविधिसँगसँगै महिलाहरुको हकहितको संरक्षणका लागि काम गर्ने बताउनुभएको छ ।

विगत ४ दसकदेखि सामाजिक एवं शिक्षा क्षेत्रमा सक्रिय ठाकुरले राजनीतिमा महिलाको उपस्थिति न्यून भएको भन्दै आफू महिलालाई राजनीतिमा स्थापित गर्ने अभियानमा लाग्ने बताउनुभयो ।

नयाँ शक्तिको तर्फबाट नगर प्रमुखको दाबेदार ठाकुरले नयाँ शक्तिले लिएको सोच र भिजनले नै देशलाई समृद्ध बनाउने भन्दै अब हिमाल पहाड मधेश सबै क्षेत्रलाई समेटेर देशको विकास गनुपर्ने र त्यसका लागि नयाँ शक्तिले अंगिकार गरेको राष्ट्रिय एकताको बाटो नै सहि भएको बताउनुभयो ।

कुराकानीका क्रममा आफू सप्तरीकै नारी भएकोले जन्मभूमि र कर्मभूमिलाई केही योगदान दिने उद्देश्यका साथ राजनीतिमा होमिएको बताउने ठाकुरले समाजमा व्याप्त पारम्परिक र रुढीवादी सोचलाई बदल्दै नगरको प्रमुख पदमा निर्वाचित भएर केही राम्रो र उदाहरणीय काम गर्ने लालसाले चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाउनुभयो ।



राजविराज नगरको अव्यस्थित सहरीकरणको व्यवस्थापन गर्ने, नगरको प्रशासनिक सुधार गरी शिक्षा, स्वास्थ्य, रोजगार जस्ता प्रमुख आवश्यकताहरु पूरा गर्ने उहाँले बताउनुभयो । साथै आफूले एउटा सुन्दर, समृद्ध, हरियालीयुक्त, परिपूर्ण, सामाजिक विकृतिमुक्त नगरको परिकल्पना गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी नगरपालिका उपप्रमुख पदका उम्मेदवार अनन्त लाल साह (आनन्द)ले नगरको सरसफाई र ढलनिकासलाई व्यवस्थित गर्ने, खानेपानीको उचित व्यवस्था गर्ने, लिंकरोड निर्माण गर्ने, नगरका सबै वडामा पुग्ने बाटोलाई स्तरोन्नतिसहित कालोपत्र गर्ने, वैकल्पिक ऊर्जाको उचित प्रबन्ध गर्ने, भाषा, कला र संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने र राजविराजलाई सुन्दर र स्वच्छ सहरको रुपमा विकास गर्ने बताउनुभयो ।

उहाँले आफू समाजसेवी भएकोले समाज सेवाको दायरालाई बृहत बनाउनकै लागि राजनीतिमा प्रवेश गरेको बताउँदै नगरको विकासलाई नै आफूले केन्द्रमा राखेर अघि बढ्ने बताउनुभयो ।