संस्कृतिलाई समयसापेक्ष परिमार्जन गर्नुपर्छ : संयोजक भट्टराई

९ असोज, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले संस्कृति र परम्परालाई समयसापेक्षा परिमार्जन र विकसित गर्नुपर्ने बताउनुभएको छ । नयाँ शक्ति पार्टी, काठमाडौं जिल्ला परिषद्ले सोमबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आउँदै गरेको विजया दशमीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानवजातिको संस्कृतिले आत्मीक र सामाजिक सन्तुष्टि दिने भएकोले यसको जगेर्ना गर्दै समयानुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

संस्कृति र परम्परालाई अवलम्बन गर्ने नाउँमा त्यसभित्रको जडतालाई यथारुपमा संरक्षण गर्ने एकथरी प्रवृत्ति र विना विकल्प संस्कृति र परम्परा केही होइन भन्दै विरोध गर्ने अर्कोथरी प्रवृत्ति दुवै गलत भएको भन्दै संयोजक भट्टराईले संस्कृति र परम्पराको संरक्षण गर्दै नेपालको बहुसांस्कृतिक चरित्रलाई व्यहारमै ग्रहण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नयाँ शक्तिले असल राजनीतिको बिजारोपण गरेको भन्दै संयोजक भट्टराईले एकाध सफलताबाट ज्यादै हौसिने र असफल भइयो भनेर निराश बन्ने दुवै प्रवृत्ति गलत भएकोले त्यस्तो प्रवृत्तिबाट बचेर जनताको बिचमा गई संगठन र विचारको विस्तार गरेरै नयाँ शक्तिले सफलता हासिल गर्ने बताउनुभयो ।

‘राजनीतिक पार्टीहरु नियमित विकासक्रमबाटै अगाडि बढ्छन् र जनमत हासिल गरेर सत्तामा पुग्ने गरेका छन्’, उहाँले भन्नुभयो – ‘सगरमाथा चढ्ने भनेर फेदीमा लावालस्कर लाग्छ तर, असाध्यै थोरै आरोही मात्रै चुचुरोमा पुग्छन् ।’

कार्यक्रममा नयाँ शक्ति पार्टी काठमाडौं जिल्ला संयोजक पञ्चलाल महर्जनले नयाँ शक्तिले आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा काठमाडौंका मुख्य तीन समस्यालाई चुनावी एजेण्डा बनाउने बताउनुभयो । उहाँले काठमाडौंको सडक विस्तार, भूकम्प पीडितहरुको समस्या र नक्सापास विपरित बनाइएका घरहरुको व्यवस्थापनको विषयलाई मुख्य रुपमा उठाउने बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्तिको विकास र समृद्धिको एजेण्डालाई समर्थन गर्दै विकास डंगोल, सरु खड्का, रीता भट्टराई, शर्मिला तामाङलगायत नयाँ शक्ति पार्टीमा प्रवेश गर्नुभयो ।