नयाँ शक्ति कास्कीको चुनावी अभियान सुरु, सबै क्षेत्रमा घरदैलो अभियान

२३ कात्तिक २०७४

पोखरा । नयाँ शक्ति पार्टी, नेपालले कास्कीका सबै क्षेत्रमा एकैसाथ चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको नयाँ शक्ति कास्कीले सबै क्षेत्रमा उम्मेदवारसहितको घरदैलो कार्यक्रम सुरु गरेको हो । 

पार्टीका नयाँ शक्ति संयोजक हेमबहादुर थापा अमोदका अनुसार आर्थिक समृद्धिको नारा लिएर राष्ट्रिय राजनीतिको निर्णायक दल बन्ने लक्ष्यसहित मतदाता भेटघाट कार्यक्रम सुरु गरिएको छ । सबै क्षेत्रमा युवा उम्मेदवार उठाएको नयाँ शक्ति कास्कीले समृद्ध कास्की र समृद्ध प्रदेश नम्बर ४ निर्माणका लागि योजनासहित चुनावी अभियान सञ्चालनका लागि शम्भु खातीको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाइसकेको छ ।

२५ गतेबाट औपचारिक घरदैलो कार्यक्रम तीनै क्षेत्रमा एकैसाथ सुरु हुने संयोजक थापाले जानकारी दिनुभयो । 'क्षेत्र नम्बर १ को डाँडाको नाक, क्षेत्र नम्बर २ को सिर्जना चोक र क्षेत्र नम्बर ३ को पस्र्याङमा सम्पर्क कार्यालय खोल्दैछौं,’ संयोजक थापाले भन्नुभयो, ‘लगत्तै वडा सम्पर्क कार्यालयसमेत स्थापना गरेर मतदाताको घरदैलोमा पुग्दैछौं ।’

कास्कीमा पनि नयाँ शक्ति निर्णायक पार्टी बन्ने थापाले बताउनुभयो । नयाँ शक्तिले कास्की क्षेत्र नम्बर १ मा २९ वर्षीय युवा सौगात पोखरेलाई उठाएको छ । नयाँ शक्ति युवा संगठन प्रशिक्षण विभागका पोखरेलले पूर्व र वर्तमान २ मन्त्रीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । एमाले नेता तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी र कांग्रेसका वर्तमान कानुनमन्त्री यज्ञबहादुर थापासँग चुनावी मैदानमा होमिनुभएको पोखरेलले युवा नेपाली राजनीतिमा हस्तक्षेपकारी रुपमा आउनुपर्ने धारणा राख्नुभयो । 'राजनीतिलाई बाहिरबाट गाली गरेर मात्र सफा गर्न सकिन्न,' उहाँ भन्नुहुन्छ, 'हामी युवाहरु आफैं सहभागी भएर फोहोर सफा गर्ने हिम्मत गर्नुपर्छ ।'

क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नारायणहरि तिवारी र प्रदेश नम्बर २ मा कमल थापा नयाँ शक्तिबाट चुनावी अभियान लिएर मतदाताको घर दैलोमा गइरहनुभएको छ । कास्की क्षेत्र नम्बर २ मा दीपक भण्डारी नयाँ शक्तिबाट एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसेसँग चुनावी मैदानमा प्रतिष्पर्धामा हुनुहुन्छ । क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नयाँ शक्ति कास्की संयोजक हेमबहादुर थापा एमाले उम्मेदवार कास्की अध्यक्ष कृष्ण थापा र कांग्रेस उम्मेदवार गुरु बरालविरुद्ध जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रनुभएको छ ।

नयाँ शक्तिबाट प्रदेश सभा २ मा डम्मर केसी चुनावी अभियान लिएर घरदैलो अभिायनमा हुनुहुन्छ । कास्की क्षेत्र नम्बर ३ मा नारायण भण्डारी, ३ को प्रदेश सभा १ मा देवी सुवेदी र ३ को प्रदेश सभा २ मा नेत्र चपागाईं चुनावी मैदानमा होमिइसक्नुभएको छ ।