नयाँ शक्ति रुपन्देही क्षेत्र नं. २ को प्रतिबद्धता सार्वजनिक

वातावरणमैत्री उच्च प्रविधिजन्य प्रचार अभियान सञ्चालन गरिने
२५ कात्तिक २०७४

बुटवल । आगामी मंसिर २१ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टीले रुपन्देही क्षेत्र नं. २ को प्रतिबद्धता सार्वजनिक गरेको छ ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी नयाँ शक्तिले आफ्ना उम्मेदवारको परिचय तथा प्रतिबद्धता सार्वजनिक गरेको हो । कार्यक्रममा नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का लागि प्रत्यक्ष तर्फका उम्मेदवार बनेका युवा मनिकर कार्कीले देशको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आम नागरिकलाई परिवर्तनको आभास दिलाउन आर्थिक विकास, समृद्धि र प्रगतितर्फको यात्रा नै अबको राजनीतिक लक्ष्य भएको बताउनुभयो ।

उहाँले नयाँ शक्तिले निर्धारण गरेको त्यही नागरिकको अवस्था बदल्ने लक्ष्य पूरा गर्नका लागि युवा पुस्ता राजनीतिक रुपले सक्रिय हुनुपर्ने र यहि पुस्ताले अबको कार्यभार पूरा गर्न सक्ने भएकोले आफू पत्रकारिता छाडी राजनीतिमा होमिएको बताउनुभयो ।
त्यस्तै क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभातर्फ क्षेत्र नं. १ का उम्मेदवार पंकज राईले राजनीतिक शुद्धिकरणका लागि र राजनीतिलाई असल बनाउनका लागि युवाहरु राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै क्षेत्र नं. २ का प्रदेश सभा सदस्य पदका उम्मेदवार तेज कुमार घिमिरेले नयाँ शक्तिले देशको विकास र समृद्धिको लक्ष्य पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टी प्रदेश नं. ५ का संगठन विभाग प्रमुख तथा रुपन्देही क्षेत्र नं. २ का प्रदेश सभाका समानुपातिक उम्मेदवार यज्ञ पोखरेलले बदलिएको राजनीतिक परिवेशमा समृद्धि र विकासको लक्ष्य हासिल गर्नकै लागि नयाँ शक्तिको जन्म भएको बताउनुभयो । त्यस्तै कार्यक्रम नयाँ शक्ति पार्टीका रुपन्देही जिल्ला संगठन विभाग प्रमुख विमल गिरीले आम सञ्चार माध्यमहरुले सबैको आवाजलाई स्थान दिनुपर्ने र समाजको रुपान्तरणका लागि मिडियाले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टी रुपन्देही क्षेत्र नं. २ ले तयार गरेको प्रचार सामग्री सार्वजनिक गर्नुका साथै प्रचारात्मक भिडियो क्लिप्सको समेत सार्वजनिक गरेको थियो । नयाँ शक्तिले बुटवलमा आर्थिक रुपले बोझिलो, भड्किलो चुनावी प्रचार नगरी वैकल्पिक शैलीको चुनाव प्रचार अभियान संचालन गर्ने जनाएको छ ।

‘हामी भड्किलो र खर्चिलो चुनावी अभियान हैन, वातावरणमैत्री उच्च प्रविधिजन्य प्रचार अभियान संचालन गर्नेछौं’ चुनावी प्रचार रणनीतिको बारेमा बताउँदै प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्कीले भन्नुभयो– ‘हामी वैकल्पिक राजनीतिक शक्ति हौं, हाम्रो चुनावी प्रचार पनि वैकल्पिक र आकर्षक हुनेछ ।’