रुपन्देही क्षेत्र नं. २ मा नयाँ शक्तिको चुनावी अभियान सुरु

२७ कात्तिक २०७४

 

बुटवल । नयाँ शक्ति पार्टीले रुपन्देही क्षेत्र नं. २ मा चुनावी प्रचार अभियान सुरु गरेको छ । सोमबार क्षेत्र नं. २ अन्तर्गतका दुई नगरपालिकाहरु तिलोत्तमा र सैनामैनामा चुनावी प्रचार कार्यालय संचालन गरी चुनाव प्रचारप्रसार सुरु गरेको हो ।
 
वैकल्पिक र वातावरणमैत्री शैलीका साथ चुनाव प्रचारमा लाग्ने घोषणा गरेको नयाँ शक्तिले मतदातालक्षित चुनावी अभियानहरु संचालन गर्ने तथा प्रविधिको उच्चतम् प्रयोग गरी चुनावी सभाहरु गर्ने जनाएको छ । चुनावी अभियान संचालनका लागि मंगलबार नयाँ शक्तिले तिलोत्तमा नगरपालिकाको जानकीनगर र सैनामैना नगरपालिकाको सोरौलीमा चुनावी प्रचारप्रसार कार्यालय स्थापना गरेको हो ।
 
प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै नयाँ शक्ति पार्टीका ५ नम्बर प्रदेश सचिव कमल खनालले नयाँ शक्तिले वैकल्पिक राजनीतिको दर्शन प्रतिपादन गरेको भन्दै नयाँ विचार र शैलीका साथ नयाँ शक्ति जनतासामु आएको बताउनुभयो ।
नयाँ शक्ति पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनिकर कार्कीले नयाँ शक्तिले देशको समग्र विकास, समृद्धि र जनताको प्रगतिलाई नै मुख्य राजनीतिक मुद्दा बनाएको बताउँदै राजनीति फेर्नको लागि नयाँ पुस्ता राजनीतिमा लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
 
क्षेत्र नं. २ अन्तर्गत १ नम्बर क्षेत्रका प्रदेश सभा उम्मेदवार पंकज राईले देशलाई समृद्धितिर लैजानका लागि विद्यमान शासकीय स्वरुपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै २ नम्बर क्षेत्रका प्रदेश सभा सदस्य उम्मेदवार तेज कुमार घिमिरेले बदलिएको राजनीतिलाई सम्बोधन गरी विकास र समृद्धि प्राप्त गर्नकै लागि नयाँ शक्ति घरघरमा पुगेको बताउनुभयो ।
 
कार्यक्रममा नयाँ शक्तिका ५ नं. प्रदेश संगठन विभाग प्रमुख यज्ञ पोखरेलले राजनीतिक पार्टीहरुको जन्म परिवर्तनको आवश्यकताले हुने बताउँदै विकास र समृद्धिको आवश्यकता पूरा गर्नकै लागि नयाँ शक्ति जन्मिएको दाबी गर्नुभयो ।
 
त्यस्तै नयाँ शक्तिको प्रादेशिक परिषद्का सचिवालय सदस्य नर बहादुर सुनारले नयाँ शक्तिलाई उन्नत जातको बिउबिजनको संज्ञा दिँदै यसले गुणस्तरीय फल दिनेमा आम नागरिकलाई ढुक्क हुन आग्रह गर्नुभयो । कार्यक्रममा नयाँ शक्ति सैनामैना नगरपालिका सहसंयोजक लक्ष्मी प्रसाद शर्माले आफूहरु प्रचारका क्रममा नयाँ शक्तिको विचार बोकेर प्रत्येक नागरिकको घरआँगनमा पुग्ने बताउनुभयो ।
 
यसअघि नयाँ शक्तिले गत शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारहरुको परिचय एवं प्रतिबद्धता घोषणा गरेको थियो ।