एजेन्डाको दृष्टिले नयाँ शक्तिको विजय भइसकेको छ : पोखरेल

२८ कात्तिक २०७४

पोखरा, २७ कात्तिक । नयाँ शक्ति पार्टी कास्की क्षेत्र नं.१ का प्रतिनिधि सभाका सदस्यका उम्मेदवार सौगात पोखरेलले देश नयाँ शक्तिको एजेन्डामा अगाडि बढिरहेको बताएका छन् ।

पिएन क्याम्पसबाट चुनावी अभियान सुरु गर्दै पोखरेलले हिजो नयाँ शक्तिले समृद्धिको कुरा गर्दा खिस्युटिरी गर्नेहरु आज सोही बाटोमा हिड्न आउनु नयाँ शक्तिको नैतिक विजय भएको बताए । 'आज विकास र समृद्धिको नारा सिंगो देशको नारा बनेको छ,' उनले भने, 'नयाँ शक्तिले हिजो विकास र समृद्धिको कुरा उठाउँदा विचारविहिनहरुको संज्ञा दिने दलहरु आज बिपीको समाजवाद र जबजको झोला बिसाएर समृद्धिको एजेन्डा बोकेर चुनावको मैदानमा आउनु नयाँ शक्तिको विजय हो ।'

नयाँ शक्ति पिएन क्याम्पसको आयोजनामा भएको उक्त कार्यक्रमा कास्की क्षेत्र नं. १ बाट अध्ययनको लागि पिएन क्याम्पसमा आएका विद्यार्थीहरुसँग अन्तरक्रिया गरेर उनले आफ्नो अभियानको थालनी गरे । देशकै सबैभन्दा बढी ऊर्जावान र क्षमतावान युवाहरु क्याम्पसमा रहेको कारण आफुले क्याम्पसबाट चुनावी अभियानको थालनी गरेको उनले बताए ।

कार्यक्रममा नयाँ शक्ति क्षेत्र नं. १ ‘क’उम्मेदबार नारायणहरी तिवारीले २० को अवधि प्रत्येक नागरीकको थाप्लोमा २० हजारका दलले ऋण थपिएको बताए । उनले भने ‘पुराना दलहरुले काम नगरेकै कारण आज देशबाट ४२ लाख युवा पलायन भएका छन् । ती युवाहरुलाई देश फर्काउने जिम्मा हाम्रो काँधमा आएको छ ।’

कार्यक्रमा बोल्दै नयाँ शक्ति क्षेत्र नं. १ ‘ख’ का उम्मेदवार कमल थापाले युवा विद्यार्थीहरुलाई समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न आह्वान गरेका थिए । नयाँ शक्ति विद्यार्थी युनियन पिएन क्याम्पसको अध्यक्ष कृष्ण अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव विशाल तिमल्सिनाले गरेका थिए ।