रुपन्देहीमा नयाँ शक्तिको घरदैलो जारी

४ मंसिर, २०७४

बुटवल – नयाँ शक्ति पार्टीले रुपन्देही क्षेत्र नं. २ मा घरदैलो अभियान तीव्र बनाएको छ । भिन्न शैलीको चुनावी प्रचार अंगालेको नयाँ शक्तिले बिहान मतदाताकेन्द्रित घरदैलो अभियान जारी राखेको छ भने साँझ बजारका चोकहरुमा मल्टिमिडियामार्फत चुनावी कोण सभा गर्ने गरेको छ ।

सोमबार नयाँ शक्तिले रुपन्देही क्षेत्र नं. २ अन्तर्गत सैनामैना नगरपालिकाको वडा नं. २ र ३ का मुर्गिया, झारवैरा, खकनपुर, कालिकाचोकलगायतका क्षेत्रहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

घरदैलोका क्रममा नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनिकर कार्कीले नयाँ शक्ति पार्टीले आम नागरिकको आर्थिक अवस्था फेर्ने, रोजगारीका लागि विदेशिन बाध्य युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी बस्ने वातावरण बनाउने, हरेक नागरिकको मुहारमा खुसी भर्ने लक्ष्य लिएको बताउँदै नयाँ शक्ति पार्टीलाई जिताउन आम मतदातासँग आग्रह गर्नुभयो ।

त्यस्तै प्रदेशसभा अन्तर्गत क्षेत्र नं. २ का उम्मेदवार तेज कुमार घिमिरेले नयाँ शक्ति पार्टीले युवा पुस्तालाई राजनीतिमा अघि सारेको भन्दै अब युवाले नै देश बनाउने बताउनुभयो ।

नयाँ शक्तिले भड्किलो र खर्चिलो चुनावी कार्यक्रमहरु नगरी मतदाताकेन्द्रीत चुनावी अभियान संचालन गर्ने र चोक चोकमा ससानो प्रविधियुक्त चुनावी सभा गर्ने बताएको छ ।

घरदैलो कार्यक्रममा नयाँ शक्ति पार्टीका रुपन्देही क्षेत्र नं. २ का उम्मेदवारहरुसहित, ५ नं. प्रदेश सचिव कमल खनाल, प्रदेश सदस्य वामदेव भुसाल, जिल्ला सदस्य हरि खड्का, विद्यार्थी नेता प्रेम अर्याल, सुशिला शाही, ज्ञानु तिवारी, अमित सुवेदी, गोविन्द घिमिरेलगायतका अभियन्ताहरुको सहभागिता रहेको थियो ।