प्रेस–विज्ञप्ति - २५ पुस २०७४

२५ पुस २०७४

जनसरोकारको विषयहरु र खासगरी चिकित्सा शिक्षा र चिकित्सा सेवा सम्बन्धी नीतिगत मुद्दा र विकृतिविरुद्ध अनशनमार्फत आवाज बुलन्द गर्दै आउनुभएका डा. गोविन्द केसीको गिरफ्तारीको खबरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
हामी न्यायिक सर्वोच्चताको पक्षमा छौं र न्यायालयप्रतिको विश्वास संविधानको धाराहरुमा भन्दा बढी जनताको विश्वासमा जीवित रहन्छ भन्ने कुरामा विश्वास गर्दछौं । आम जनसरोकारका विषयहरुमा राज्यको अकर्मण्यता, असक्षमता र आलटालले राज्यप्रति नागरिकको विश्वासमा ह्रास आउँदै जानु अत्यन्त दु:खद कुरा हो भन्ने नयाँ शक्ति पार्टी, नेपालको ठहर छ ।
स्वास्थ्यजस्तो संवेदनशील विषयलाई व्यापारीकरण गरिनु र नागरिकको संविधानप्रदत्त अधिकारबारे राज्य बेखर रहँदै आफ्नो दायित्वबाट पन्छिन खोज्दा नै मुलुकमा थप अन्यौलता र अराजकता बढेको निष्कर्ष निकाल्न सकिन्छ ।
मुलुकमा कठीनभन्दा कठीन लोकतन्त्रको लडाइँ सम्मानित अदालतको गरिमा जगेर्ना गर्नकै लागि हो । यो नागरिकको प्राथमिक दायित्वको विषय पनि हो । अदालत आफ्नो काम, कर्तव्य र अधिकारप्रति सचेत र प्रतिवद्ध हुनसक्दा मात्रै नागरिकले आफ्नो दायित्व पूरा गर्न सक्छन् । यही अधिकार र कर्तव्यको गतिशील र सजिव सन्तुलनमा नै न्यायालय र लोकतन्त्र जीवित रहन सक्छ ।
पछिल्लो समय डा. केसीको अभिव्यक्ति र अनशनको मुद्दाको आशय अदालतको गरिमा बढाउँदै लोकतन्त्रमा प्राण भर्ने नियतका साथ हो भन्ने नयाँ शक्ति पार्टीको ठम्याई छ । शब्दभन्दा सन्देशमा ध्यान दिएर समाधान खोज्ने विधि नै सर्वोत्तम विधि हो । सरकारले डा. केसीको सन्देशभन्दा शब्दहरुलाई पछ्याउँदै रातारात पक्राउ गरेको घटनाको विरोध गर्दै हामी डा. केसीको अबिलम्ब रिहाइको माग गर्दछौं र उहाँले उठाउनुभएको मुद्दाको गहनतालाई बुझ्दै न्यायोचित समाधानमा सम्बन्धित सबै पक्ष दृढ इच्छाशक्तिका साथ अगाडि बढ्न हामी आग्रह गर्दछौं ।

 


प्रशान्त सिंह
प्रवक्ता
नयाँ शक्ति पार्टी, नेपाल


डाउनलोड