चुनावी समीक्षासँगै रुपन्देही-५ मा नयाँ शक्तिको तदर्थ समिति गठन, नेतृत्वमा शर्मा

१३ माघ, २०७४

रुपन्देही । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि रुपन्देही क्षेत्र नं. ५ मा नयाँ शक्तिको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वैकल्पिक राजनीतिक शक्ति निर्माणको लागि पार्टी पुनर्गठन गर्दै संगठन सुदृढीकरणको लागि दृढतापूर्वक अगाडि बढ्नेबारे छलफल भएको नयाँ शक्तिका नेता नरबहादुर सुनारले जानकारी दिनुभयो । भेलाले सोमनाथ शर्माको नेतृत्वमा नयाँ शक्तिको रुपन्देही क्षेत्र नं. ५ तदर्थ समिति गठन गरेको छ । समितिको सहसंयोजकमा विरेन्द्र कुमार धवल रहनुभएको छ भने सदस्यहरुमा अजम तुल्ला भाट, अनुराग रसाइली, बुद्धिसागर गैरे,कमला क्षेत्री, सूर्य ब. थापा, प्रदिप, महमत हनि दर्जी, बिरेन्द्र विक र उमाकान्त मिश्रले जिम्मेवारी पाउनुभएको छ । भेलामा शालिकराम पौडेल, नरबहादुर सुनार, बोम दर्लामीलगायतका नेताहरुले पार्टीको आगामी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । भेलाले नयाँ शक्तिको सदस्यता बिस्तार गर्दै संगठन बिस्तार र सुदृढीकरण गर्ने र स्थानी बेथिति र भ्रष्टाचारका मुद्दाहरुलाई भण्डाफोर गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक रुपान्तरणमा जोड दिने निर्णय गरेको सुनारले जानकारी दिनुभयो । कार्यक्रममा कञ्चन गाउँपालिकाका नयाँ शक्ति पार्टी संयोजक शालिकराम पौडेलले आफ्नो जीवनकालमा कम्युनिष्ट पार्टीको संगठन बिस्तारमा धेरै काम गरे पनि कम्युनिष्टहरुले देश र जनता हितमा काम नगरेको भन्दै अब देशलाई समृद्धि गराउने काम नयाँ शक्तिले मात्र गर्ने सक्ने बताउनुभयो । उहाँले आफू ६५ बर्से उमेरमा पनि नयाँ शक्तिको संगठन बिस्तार गर्ने काममा सक्रिय भएर लाग्ने घोषणा गर्दै सबै अभियान्ताहरुलाई जनताको दैनिकीसंग जोडिएको कुरामा साथ दिदै संगठन बिस्तार कर्यमा लाग्न आग्रह गर्नुभएको थियो । अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका संयोजक तथा विदेश विभाग सदस्य नरबहादुर सुनारले पुराना दलहरुले वृद्ध भत्ताको लागि मात्रै राजनीति गरेको बताउनु हुँदै नयाँ शक्तिले उत्पादनमुखी कार्यक्रम अगाडि बढाउन माहौल सिर्जना गर्ने बताउनुभयो । उहाँले युवाहरुलाई स्वदेश फर्काउँदै स्वदेशमै रोजगारीको सिर्जना गर्नेगरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।