नयाँ शक्ति मकवानपुरको प्रशिक्षणात्मक वनभोज कार्यक्रम सम्पन्न

२० माघ, २०७४

हेटौंडा । नयाँ शक्ति पार्टी, मकवानपुर जिल्ला समन्वय समितिले प्रशिक्षणात्मक वनभोज कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शक्तिले शनिबार हेटौंडामा जिल्ला पार्टीमा आवद्ध करिब १ सय ५० जना अभियन्ता तथा समर्थकहरुबीच वनभोज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नयाँ शक्ति पार्टी ३ नं. प्रदेशका संयोजक सोनामसिंह स्याङतेनले पार्टी निर्माण प्रक्रिया लामो प्रक्रिया भएकोले सशक्त वैकल्पिक राजनीतिक शक्ति निर्माणमा केही समय लाग्ने बताउँदै सबैमा धैर्यता र साहस हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले नयाँ शक्तिले लिएको विचार र समृद्धिको दृष्टिकोण सबैभन्दा अब्बल भएकोले त्यसैले देशलाई समृद्ध बनाउने बताउनुभयो । कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै महाधिवेशन आयोजक समिति सदस्य मनिकर कार्कीले पार्टी बन्न उपयुक्त विचार, राजनीतिक कार्यक्रम र संगठनको संयोजन आवश्यक रहने भएकोले नयाँ शक्तिले विचारमा प्रस्टता कायम गर्दै उपयुक्त राजनीतिक कार्यक्रम र सांगठनिक संरचना निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बदलिएको राजनीतिक गन्तव्यमा पुग्नको लागि युवा पुस्तालाई कार्यकारी भूमिकामा अगाडि सार्दै राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको धारणा राख्नुभयो । त्यस्तै नयाँ शक्ति निकट प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका संयोजक रमेश उप्रेतीले प्रवासी नेपालीहरु माझ नयाँ शक्तिको लोकप्रियता असाध्यै धेरै रहेकोले नयाँ शक्तिलाई एउटा बलियो वैकल्पिक शक्तिको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा पार्टीका मकवानपुर जिल्ला कार्यवाहक संयोजक जीवनमान मोक्तानले विगतका भएका गल्ती कमजोरीलाई सच्याएर संगठन विस्तार गर्दै नयाँ शक्तिलाई स्थापित गर्ने अठोट व्यक्त गर्नुभयो । कार्यक्रममा संघीय परिषद् सदस्य ध्रुवराज ढकाल, डीवी थापा लगायतले बोल्दै नयाँ शक्तिलाई सशक्त पार्टी बनाउन सबैको रचनात्मक भूमिका अपरिहार्य रहेको बताउनुभयो । जिल्ला पार्टीलाई क्रियाशील बनाउँदै पार्टीमा आवद्ध सदस्य, अभियन्ता एवं समर्थकहरुबीच भावनात्मक सम्बन्ध बलियो बनाउन वनभोज कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक राजेन्द्र सिंम्खडाले बताउनुभयो ।