नयाँ शक्तिको संघीय परिषदको विस्तारित बैठकको तयारी अन्तिम चरण

७ फागुन, २०७४

लुम्बिनी – नयाँ शक्ति पार्टीको आसन्न संघीय परिषद् विस्तारित बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा हुन गइरहेको विस्तारितमा बैठकको तयारी अन्तिम चरणमा पुगेको पार्टीका प्रदेश ५ का इन्चार्ज तथा बैठक मूल आयोजक समितिका संयोजक कर्णध्वज केसीले सोमबार लुम्बिनीमा पत्रकार सम्मलेन गरी जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै केसीले बैठकको तयारी अन्तिम चरणमा पुगेको बताउँदै मंगलबारसम्म सम्पूर्ण तयारी पूरा गर्ने र मंगलबार नै पार्टीका केन्द्रिय संयोजक डा.बाबुराम भट्टराई सहितका नेता तथा संघीय परिषद् सदस्यहरु लुम्बिनी आइपुग्ने जानकारी गराउनुभयो ।

यही फागुन ९ गतेदेखि तीन दिनसम्म चल्ने संघीय परिषद्को विस्तारित बैठकमा हालै सम्पन्न तीन तहको निर्वाचनको नतिजाबारे गम्भीर समीक्षा गर्नुका साथै पार्टीको आगामी कार्यदिशा तय गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी संघीय तथा प्रदेशसभा निर्वाचन लगत्तै बसेको ल्वाङ बैठकमा पार्टीको रोग पत्ता लागेको र अब लुम्बिनी बैठकले त्यसलाई अपरेशन गरी निको बनाउँदै वैकल्पिक राजनीतिको स्पष्ट सन्देश लुम्बिनी बैठकले दिने प्रदेश ५ का संयोजक दान बहादुर चौधरीले बताउनुभयो । उहाँले यो बैठक मुलुकमा नयाँ बैकल्पिक राजनीतिक शक्ति निर्माणको लागि कोशेढुंगा साबित हुने विचार व्यक्त गर्नुभयो ।

नयाँशक्ति पार्टी नेपाल ५ नं प्रदेश संयोजक दानबहादुर चौधरीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका नेताहरु यज्ञ पोखरेल, मनिकर कार्की लगायतले बोल्दै लुम्बिनी बैठकले नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । बैठकमा मुलुकभर बाट एक हजार बढी परिषद सदस्यहरुको सहभागिता रहने छन् ।